तुल्सीले भनिन्, ‘अन्तरंग फोटो र भिडियो खिचेको हो, नेपाल आएर प्रहरीमा सरेन्डर गर्छु’

'मलाई टर्चर भएपछि बलात्कारको जाहेरी देखाएर तर्साएको थिएँ'

लोकपथ
644
Shares

काठमाडौं । आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा आरोपित टिकटकर तुल्सी अधिकारीले आफू नेपाल आएर प्रहरीमा सरेन्डर गर्ने बताएकी छिन् । लोकपथसँगको ५५ मिनेट लामो कुराकानीमा तुल्सीले आफू नेपाल आएर प्रहरीमा आत्मसमर्पण गर्ने बताएकी हुन् । 

लोकपथमा तुल्सी अधिकारीको हनी ट्रयापसम्बन्धी समाचारको शृंखला प्रकाशित भएपछि सम्पर्कमा आइपुगेकी उनले आफू चाँडै नै नेपाल आएर प्रहरीमा आत्मसमर्पण गर्ने बताएकी हुन् ।

लोकपथसँगको कुराकानीमा तुल्सीले आफू र पीडित भनिएका परिवर्तित नाम शंकर चिमोरियाबिच पति–पत्नीबराबरकै सम्बन्ध रहेको बताउँदै त्यस्तो सम्बन्धलाई हनी ट्रयाप भन्न नमिल्ने बताइन् । उनले भनिन्, ‘उसले आफ्नो परिवारलाई चिनाएको छ, मैले मेरो परिवारलाई चिनाएको छु । विवाहसम्मको कुराकानी भएको छ । सम्बन्धमा हुँदा भएको खर्चको हिसाब र सहयोगलाई हनी ट्रयाप भन्न मिल्छ र ?’

लोकपथसँगको कुराकानीमा तुल्सीले चिमोरियाले भन्दा बढी रकम आफूले चिमोरियालाई दिएको दाबी गरेकी छिन् । यद्यपि सुरुवाती चरणमा काठमाडौंमा पसल खोल्न, बस्न, खान चिमोरियाले आर्थिक सहयोग गरेको स्वीकार गरेकी छिन् ।

बुटवलदेखि काठमाडौंको यात्रा

तुल्सीले पहिले आफू बुटवलको महिन्द्राको शो रुममा सेल्स हेड भएर काम गरेको र त्यहीँ चिनजान भएपछि चिमोरियाले नै आफूलाई काठमाडौंमा बोलाएको बताएकी छिन् । 

तुल्सीले बुटवलमै हुँदा मासिक ३५ हजार रुपैयाँको तलब खाने गरेको र कमिसनहरु जोड्दा ५० हजार रुपैयाँभन्दा बढी हुने बताएकी छिन् । यद्यपि प्रहरीले गरेको अनुसन्धानमा भने तुल्सीले बुटवलको लोकसुशीला अटो अर्थात् महिन्द्रा गाडीको शो रुममा जागिर खाँदा मासिक न्यूनतम १६ हजार ५ सय रुपैयाँ र बढीमा २१ हजार ५१४ रुपैयाँसम्म प्राप्त गरेको पाइएको छ । 

बुटवलमै काम गर्दै गर्दा चिमोरियाले काठमाडौं बोलाएपछि आफू काठमाडौंमा आएको र सुरुमा फ्ल्याट खोज्ने, सामान जोड्ने लगायतका कामहरू चिमोरियाले नै गरेको तुल्सीले स्वीकार गरेकी छिन् । 

यही क्रममा चिमोरियाले आफ्नी श्रीमतीसमेत बिरामी भएको कारण अगाडि बढ्न सकिन्छ कि भनेर प्रस्ताव गरेपछि आफू पनि चिमोरियासँग नजिक भएको बताएकी छिन् । 

काठमाडौं आएपछि सुरुमा आफूले ललितपुरको बालकुमारीमा रहेको निशान गाडीको शोरुम रहेको मेगा मोटर्समा जागिर खाएको र सुरुको तलब ३५ हजार रुपैयाँ रहेको बताइन् ।

बालकुमारीको मेगा मोटर्समा कति तलब थियो र कति कमाई हुन्थ्यो भनी सोध्दा तुल्सीले मासिक तलब ३५ हजार रुपैयाँ रहेको र गाडी बिक्रीको कमिसनहरु सबै गर्दा ५० देखि ७० हजार रुपैयाँसम्म हुने गरेको दाबी गरिन् । 

तर प्रहरीले गरेको अनुसन्धानमा भने तुल्सीले मेगा मोटर्सबाट न्यूनतम २३ हजार ७६० रुपैयाँ र अधिकतम २९ हजार ७०० रुपैयाँ बुझेको पाइएको छ । करिब ३ महिना मात्रै काम गरेकी उनले पहिलो महिना २३ हजार ७६०, दोस्रो महिना २९ हजार ७०० र तेस्रो महिना १६ हजार ७१० रुपैयाँ मात्रै बुझेकी छिन् । उनले तलब र कमिसनबापत लिएको भनी गरेको दाबी नै झूटो भएको देखिन्छ ।

तुल्सीले लोकपथसँगको कुराकानीमा मेगा मोटर्समा जागिर गर्दा चिमोरियाले नभएको कुरा लगाइदिएर आफूलाई जागिरबाट निकालेको समेत बताइन् । चिमोरियाको चाहना आफू घरमै बसेर उसको यौनइच्छा मात्रै पूरा गरिदियोस् भन्ने रहेका कारण त्यस्तो भएको उनले दाबी गरिन् । पछि घरमा बस्न सक्दिन भनेपछि उसले नै लगानी गरेर फेन्सी पसल खोलिदिएको तुल्सीले बताइन् । 

तर करिब १५ दिन मात्रै पसल चलाएपछि ‘लकडाउन’ भएको र त्यसपछि उक्त पसलका सबै सामान चिमोरियाले नै लगेर पसल बन्द गरेको बताइन् ।

त्यसपछि आफूहरू परिवारसहित पोखरा घुम्न जाँदा ज्वेलरीको राम्रो पसल देखेपछि आफूलाई ज्वेलरीको व्यापार गर्न मन लागेकाले चिमोरियाले नै लगानी गरिदिएको तुल्सीले बताइन् । 

ज्वेलरीको व्यापार गरेपछि आफू भारतमा पनि जान थालेको र भारत तथा चीनबाट सामानहरू ल्याएर बिक्री वितरण गर्न थालेको तुल्सीले बताइन् । 

भारतबाट सामान ल्याउँदा नेपालमै नगदमा तिरेको हो

तुल्सीले भारतबाट सामान ल्याउने क्रममा आफूसँग एक्जिम कोड नभएको कारण एक्जिम कोड भएको मानिसमार्फत सामान मगाएको र कतिपय अवस्थामा भारतमा सामान किनेर नेपालमा नगर्दै भुक्तानी गरेकोसमेत स्वीकार गरेकी छिन् ।

टिकटकर तुलसा अधिकारी ।

जाहेरवालाले विभिन्न व्यक्तिलाई नगद दिएको भनेर लगाएको आरोप के हो भन्ने सम्बन्धमा कुरा गर्दा तुल्सीले दुवैतर्फ मेरो पनि कुरा भएको रहेछ भने होला, नत्र सबै कारोबार आफ्नो नहुन पनि सक्ने बताइन् । यद्यपि कतिपय अवस्थामा भारतमा सामान खरिद गरी नेपालमै भुक्तानी गरेको, कतिपय अवस्थामा उधारोमा सामान ल्याएर नेपालमा पैसा तिरेको स्वीकार गरेकी छिन् । 

ज्वेलरीबाट नै कमाएको दाबी

तुल्सीले आफूले ज्वेलरीको व्यापारबाट नै कमाएको दाबी गरिन् । सुरुमा आफूसँग पैसा नभएको कारण केवल ५ लाख रुपैयाँको पुँजी राखेर कम्पनी दर्ता गरेको र त्यतिबेला चिमोरियाले ४ लाख मात्रै दिएको दाबी गरिन् । साथै पसल सुरु गर्दा केवल २ लाख रुपैयाँबाट सुरु गरेको तुल्सीको दाबी छ । 

तर पसल छाड्ने क्रममा भने आफूले आफ्नो बोर्डमात्रै लिएर गएको र पसल जिम्मा लगाएको दाबी गरिन् । चिमोरियाले पनि उक्त पसल आफूहरूले केही समयपछि ५० लाख रुपैयाँमा बिक्री गरेको दाबी गरेका छन् ।

ज्वेलरीको व्यापार सुरु गरेपछि नै आफू चीनमा आउन जान थालेको र त्यहीँबाट सामान ल्याएर बिक्री गर्न थालेको तुल्सीको भनाइ छ ।

‘बुढो हो भनेर आउने व्यक्ति मेरो एक्स ब्वाईफ्रेन्ड हो’ : तुल्सी

हनी ट्रयापबाट पीडित भनिएका शंकर चिमोरियाले आफूलाई सुरुमा डिभोर्सी भनेको तर पछि आफूहरू सम्बन्धमा हुँदा पौडेल थर गरेका व्यक्ति आएर आफूलाई धम्काएको र उसले आफू तुल्सीको श्रीमान् भएको दाबी गरेको बताएका थिए । 

त्यस सम्बन्धमा कुरा गर्दा सुरुमा चिन्दिन भनेकी तुल्सीले पछि ती व्यक्ति आफ्नो ‘एक्स ब्वाईफ्रेन्ड’ रहेको स्वीकार गरिन् । सुरुमा चिमोरियाले नै खोजेर ल्याएको डमी व्यक्ति भएको र आफूले नचिनेको दाबी गरेकी तुल्सीले कुराकानीकै क्रममा ती व्यक्ति आफ्नो एक्स ब्वाईफ्रेन्ड रहेको स्वीकार गरिन् ।

जतिबेला पौडेल थरका व्यक्तिले चिमोरियासँग झगडा गरेका थिए, त्यतिबेला तुल्सी चिमोरियासँग सम्बन्धमा रहेकी थिइन् ।

‘बलात्कारको जाहेरी बनाएर नेलिकालाई पठाएर धम्काएको हो’

तुल्सी अधिकारीले लोकपथसँगको कुराकानीको क्रममा नेलिका लामिछानेलाई जाहेरी दिई चिमोरियालाई धम्काउन पठाएको स्वीकार गरेकी छिन् । चिमोरियाले आफूलाई धेरै नै टर्चर दिन थालेपछि दुःख नदियोस् भनेर आफूले नेलिकालाई आफ्नो मोबाइलसमेत पठाएर बलात्कारमा फसाइदिने भनी धम्की दिन पठाएको स्वीकार गरेकी हुन् । 

‘नेलिका लामिछाने को हो ?’ भन्ने लोकपथको प्रश्नमा तुल्सीले भनिन्, ‘त्यो मेरो बहिनी हो, मैले नै उनलाई पठाएको हो । त्यो मान्छेले मलाई एकदमै फिजिकल एब्युज गरिराख्यो, त्यसपछि बलात्कारको जाहेरी दर्ता गर्न भनेर पठाएको हो ।’

‘दर्ता त भएको रहेनछ तर लिएर गएको रहेछ, सबै पढेर सुनाइपछि अब कसरी मिल्ने पैसाको हिसाब नमाग भनेको रहेछ, त्यो तपाईंसँग सल्लाह भएर तयार भएको थियो कि नभई ?’ भन्ने लोकपथको प्रश्नमा तुल्सीले भनिन्, ‘सल्लाह भन्दा पनि यो मान्छेले मलाई एब्युज गरिराख्यो । यति धेरै एप्रोज गरिराखेको छ, त्यो मैले प्रमाणसँग पठाउँछु । यदि मैले उसलाई ब्ल्याकमेल गरेको छु, हनीट्रयाप गरेको छु भने यो मान्छे किन पछि लागेर मेरो जीवनमा आइदियो ? म गल्ती गरे गु खाने मान्छे भएँ भनेर किन यसले मैले सामान ल्याउने ठाउँ इन्डियामा फोन गर्‍यो । त्यो मान्छेले त्यो म्यासेजहरू रेकर्ड गर्‍यो । मेरो तुल्सीसँग केही लेनदेन कारोबार छैन यो मान्छेले नेपालमा धेरै जनाको घर बिगारो, यसले चाहिँ तेरो श्रीमानले ५-७ करोड पैसा इन्भेस्ट गरेको छ नेपालमा तुल्सी कलेक्सन खोल्नलाई भनेर खुदै यसको मुखबाट बोलेका भ्वाइस म्यासेजहरू छन् । यो मान्छेले यति गरिसकेपछि योसँग मैले ५ वर्ष बिताएँ, निस्किँदा सबै कुरा दिएर निस्किएँ ।’

तुल्सीले फेरि पनि अस्पष्ट जवाफ दिएपछि नेलिका लामिछाने र बलात्कारको जाहेरीका सम्बन्धमा प्रश्न गरेपछि तुल्सीले भनिन्, ‘मैले यसलाई कानुनी रूपमा नै केस गर्छु भनेर सोचेँ । तर कुनै बेला यसले मलाई गुन पनि लगाएको हो, यसको नुन पनि खाएको छु भनेर यसलाई माफ गरेर केही पनि केस गरिनँ । बहिनी जानुको कारण बहिनी गाडी हेर्न गएको हो ।’

‘तर नेलिकाले जाहेरी नै देखाएकी रहिछिन् त ?’ भनेर प्रश्न सोधेपछि बल्ल उनले जाहेरी दिएर पठाएको स्वीकार गरिन् । तुल्सीले भनिन्, ‘उसले मलाई टर्चर नगरोस्, मेरो बारेमा कुरा नकाटोस्, नबोलोस् भनेर त्यो पेपर बनाएको हो, कतै दर्ता गरेको छैन ।’

पीडित परिवर्तित नाम शंकर चिमोरिया ।

‘तपाईंसँग सल्लाह भएर नै जाहेरी बनाएको थियो ?’ भन्ने लोकपथको प्रश्नमा तुल्सीले भनिन्, ‘सल्लाह भन्दा पनि यो मान्छेले मलाई बारम्बार ह्यारेसमेन्ट गरेर सकिसकेको  कुरा पनि निकालेर धम्काउने, सताउने, बुलिंग गर्ने, मसँग जोडिएको मान्छेसँग थ्रेट गर्ने, डेथ थ्रेटसम्म गर्ने भइसकेपछि यसलाई कानुनी केस गर्छु भनेर मैले नै सोचेको हो । पेपर मैले नै बनाएको हो, तर मैले केस गरिनँ ।’

तपाईंले नै बनाएर साथीलाई कुरा गर्न पठाउनुभएको हो भन्ने प्रश्नमा तुल्सीले भनिन्, ‘त्यो फरम्याट चाहिँ मैले बनाएको हो, पेपर मैले नै बनाएको हो, त्यो फोन पनि मेरै नै हो । अबदेखिबाट दिदीलाई डिस्टर्ब नगर दिदी अगाडि बढ्नु भएको छ । यस्तो कुरा नगर, नभए तँलाई हामी केस गर्छौं भन्दा मैले केही गरेको छैन भनेछ ।’

‘भैँसेपाटीको घरको वास्तविक कारोबार अदालतमै भन्छु’

तुल्सी अधिकारीले भैँसेपाटीमा किनेको घरको थैली २ करोडको भएपनि वास्तविक मूल्य त्यो नरहेको स्वीकार गरेकी छिन् । यद्यपि उनले उक्त घर कति रकममा किनेकी हुन् भन्ने कुरा अदालतमै बयान दिने क्रममा भन्ने बताइन् । 

यद्यपि उक्त घरको बिक्रीकर्ता नीति गुप्ताले प्रहरीमा दिएको बयानमा भने उक्त घर आफूले ४ करोड रुपैयाँमा बिक्री गरेको र घर बिक्री गर्दाको लाभकर समेत तुल्सी अधिकारी आफैले तिरिदिएको बताएकी छिन् । 

सांकेतिक तस्वीर ।

त्यसैगरी रुपन्देहीको सुनवलमा पनि घडेरी रहेको कुरासमेत उनले स्वीकार गरेकी छिन् तर वास्तविक खरिद मूल्य र थैली फरक रहेको स्वीकार गरेकी छिन् ।

‘सम्पत्तिको स्रोत व्यापार नै हो, व्यापार गर्ने सबैले कर तिरेका छन् र ?’

तुल्सीले अकस्मात् किनेको घर, घडेरी, बैंकमा रहेको १ करोड, पसलको एक करोड सबै आफूले व्यापारबाट कमाएको सम्पत्ति रहेको दाबी गरेकी छिन् । 

‘तपाईँको सम्पत्तिको स्रोत के हो’ भन्ने लोकपथको प्रश्नमा तुल्सीले भनिन्, ‘मेरो अहिले भएको सम्पत्ति सबै व्यापारबाटै हो । किन नेपालमा सबै काम गर्ने मान्छेले नाफामै राखेर बिजनेस गरेका छन् र सर ?’

‘अन्तरंग फोटो र भिडियो खिचेको हो’

लोकपथसँगको ५५ मिनेट लामो कुराकानीका क्रममा तुल्सी अधिकारीले आफूहरूले फोटो र भिडियो खिचेको तर ती फोटो र भिडियो देखाएर कुनै ‘ब्ल्याकमेल’ नगरेको दाबी गरिन् । सम्बन्धमा रहँदा दुवै जनाले फोटो र भिडियो खिचेको तुल्सीको स्वीकारोक्ति छ । 

एआईबाट निर्मित सांकेतिक तस्वीर ।

‘तपाईंले फोटो, भिडियो खिच्नु भएको थियो कि थिएन ?’ भन्ने लोकपथको प्रश्नमा तुल्सीले भनिन्, ‘मैले त्यो मान्छेसँग मेरो सम्बन्ध हुँदा फोटो खिचिन्छ कि खिचिन्न ? हजुरले हजुरको श्रीमतीसँग फोटो खिच्नुहुन्न ? तपाईं आफ्नो गर्लफ्रेन्डसँग खिच्नु हुन्न ? अवश्य खिच्नुहुन्छ नि । सम्बन्धमा भएको मान्छेसँग फोटो खिच्नुलाई ब्ल्याकमेल भनिन्छ ?’

‘फोटो खिच्नुमात्र ब्ल्याकमेल होइन, फोटोको दुरुपयोग गर्नु ब्ल्याकमेल होइन र ?’ भन्ने प्रश्नमा तुल्सीले भनिन्, ‘मेरो क्यामेरामा त्यति फोटो छैन होला जति त्यसको क्यामेरामा छ । कोही मान्छेसँग जिन्दगी बिताउँछु भनेर अगाडि बढेर जोडेको सम्बन्धमा ब्ल्याकमेलिङ भन्ने कहाँबाट आउँदो रहेछ ?’

कुराकानीको अन्तिममा तुल्सीले आफ्ना बाँकी कुराहरू आफै नेपाल आएर अदालतमा बयान दिने बताइन् । तुल्सीले भनिन्, ‘मेरो पार्टको कुरा म नेपाल आएपछि पुलिसमा सरेन्डर गरेपछि गर्छु । मैले हजुरलाई बताउनुको कारण प्रमाणहरू सबै पठाइदिन्छु ।’

पूराना समाचारहरु
अंक १ : टिकटक स्टार तुलसाको हनीट्र्याप जालो : अन्तरंग फोटो र भिडियो देखाएर गर्थिन् ब्ल्याकमेल
अंक २ : तुलसाको हनीट्रयाप जालोमा जोडिएकी थिइन् कांग्रेस नेतृ, गरेकी थिइन् चिमोरियाको अपहरण
अंक ३ : …. अनि मैले आत्महत्या गर्न विष पिएँ : चिमोरिया
अंक ४ : तुल्सी अधिकारीको भैँसेपाटीमा ४ करोड बढीको घर : छोरी र आफ्नो नाममा करोड बैंक ब्यालेन्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?