कांग्रेस सभापति थापा भोलिको कार्यसमिति बैठकमा नजाने, राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने

लोकपथ
196
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामा भोलि शुक्रबार बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा पेस हुने भएको छ । बैठकमा थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने जनाइएको छ । 

पार्टी उपसभापति विश्वप्रकाश शर्माले भोलिको बैठकमा सभापति थापाको राजीनामा पेस गर्ने भएका छन् । 

‘उपसभापति शर्माले चुनावमा पराजित हुनुको कारण एकल व्यक्ति नभएको र विशेष महाधिवेशनबाट चुनिएर आएको नेतृत्व छोटो समयको तयारीमा चुनावमा होमिनु परेको लगायतका कारण बैठकलाई जानकारी गराउँदै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि बैठकमा पेस गर्नुहुन्छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।

सभापति थापाले बुधबार मात्रै राजीनामापत्र उपसभापति शर्मालाई बुझाएका थिए । उनले निर्वाचन परिणामपछि नै पार्टी सभापतिबाट राजीनामा दिने मनस्थिति बनाएका थिए । उनलाई पार्टीभित्रैका केही नेताहरूले नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।

‘निर्वाचनमा अप्रत्याशित नतिजाको नैतिक जिम्मेवारी लिँदै उहाँले राजीनामा दिनु भएको हो,’ सहमहामन्त्री प्रकाश रसाइलीले भने, ‘राजीनामाका विषयमा भोलि छलफल हुन्छ ।’ 

थापा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए ।

थापा आफैँ पनि प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट पराजित भएका थिए । 

यस्तै भोलिको बैठकमा आमनिर्वाचनको समीक्षासमेत गरिने भएको छ । बैठकमा पार्टी महाधिवेशनबारे पनि छलफल हुने बताइएको छ ।

भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकको सभापति गगन थापा भने सहभागी नहुने भएका छन् । त्यसैले बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् । 

कांग्रेसले सबै निर्वाचन क्षेत्रमा परिपत्र गरेर निर्वाचनमा विजय–पराजय दुवैको कारणसहित रिपोर्ट पेस गर्न भनेको थियो । प्राप्त भएका रिपोर्टको साझा निष्कर्षसमेत उपसभापति शर्माले बैठकमा जानकारी गराउने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?