अर्को निर्वाचनमा प्रतिपक्षीविहिन हुनेगरि काम गर्नुपर्नेछ : उपसभापति अर्याल

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले आगामी निर्वाचनसम्म पार्टीलाई प्रतिपक्षविहीन बनाउने लक्ष्यसहित काम गर्नुपर्ने बताएका छन् ।

रास्वपाले आयोजना गरेको सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उनले जनताले अर्को निर्वाचनमा रास्वपालाई मात्रै मतदान गर्ने अवस्था सिर्जना गर्न सबै नेता–कार्यकर्ता जिम्मेवार ढंगले जुट्नुपर्ने बताए ।

उनका अनुसार यस्तो लक्ष्य भाषण वा सीमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने भएकाले प्रत्येक सांसद र पार्टी सदस्यले आफ्नो स्थानबाट प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।

अर्यालले अब बन्ने सरकारले सुशासन कायम गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र भ्रष्टाचार अन्त्य गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘निर्वाचनमा पार्टीले जित हासिल गरे पनि देश र जनता जित्न बाँकी छन्, ‘उनले भने ।

उनले दूरदराजका नागरिकसम्म राज्यको उपस्थितिको अनुभूति हुने वातावरण बनाउनुपर्नेमा जोड दिँदै जनताले ‘सरकार मेरो लागि छ’ भन्ने महसुस गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

सांसदहरूलाई आफ्नो क्षमता र लगनशीलता राष्ट्रहितमा समर्पित गर्न आग्रह गर्दै उनले इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्न नसके आफूलाई नै माफ गर्न कठिन हुने चेतावनी दिए । साथै, आन्तरिक द्वन्द्व, खिचातानी र खुट्टा तान्ने प्रवृत्तिबाट टाढा रहन पनि उनले निर्देशन दिए ।

अर्यालले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह प्रति जनताले देखाएको विश्वासकै आधारमा वर्तमान जनादेश प्राप्त भएको उल्लेख गर्दै अब सबै सदस्यको मेहनतले पार्टीलाई अझ सुदृढ बनाउँदै पहिलो शक्ति बनाउने लक्ष्य हासिल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?