गोमाको आरोप– ‘जान्नेलाई छान्ने लहडमा रास्वपाले समानुपातिकमा कोशीलाई हेप्यो’

लोकपथ
168
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा असन्तुष्टि देखिएको छ ।

रास्वपा कोशी प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङ ‘सरिन’ले सामाजिक सञ्जालमा लेख्दै असन्तुष्टि जनाएकी हुन् ।

तामाङले कोशी प्रदेशबाट केही व्यक्तिहरु समानुपातिकको सूचीमा नरहेको भन्दै असन्तुष्टि जनाइन् ।

तामाङले सामाजिक सञ्जालमा लेख्दै कोशी प्रदेशको हकमा भूगोल समेट्न आफूहरुले आग्रह गरे पनि पार्टी नेतृत्वले त्यसलाई बेवास्ता नगरेको भन्दै कटाक्ष गरेकी छन् ।

उनले यसअघिको निर्वाचनमा विभिन्न जिल्लामा रास्वपाको संगठन बनाउन लागेका नेताहरुलाई बाइपास गरेको भन्दै कटाक्ष गरेकी छन् ।

उनले ओखलढुंगाकी शोभा कार्की, खोटाङकी सत्याकला राई र ताप्लेजुङकी मिरा लाबुङको नाम समानुपातिकमा नअटाएको भन्दै कटाक्ष गरिन् ।

उनले सामाजिक सञ्जालमा भनेकी छन् :

मैले कोशीको हकमा पहाडी भुगौल समेट्नपर्छ छुट्नु हुन्न भनेको थिए छनौटको समयमा । जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने नाम थियो ओखलढुंगाको बगरहरुमा घन्टी बोकेर पहिलो उम्मेदवार जसले सानो नानी चेपेर रास्वपाको बीउ रोपेको थियो २०७९ मा त्यहाँ थियो शोभा कार्की खोटाङबाट समानुपातिकमा नाम थियो चर्चित गायिका बौद्धिकताकी खानी सत्याकला राई वहाँको नाम किन आएन ? पर्नुपर्ने नाम थियो ताप्लेजुङ कि मिरा लाबुङ वहाँको नाम न आउनु पार्टीले कोशीको भौगोलिकता र जातीय कलस्टरलाई समेट्न नसक्दा अबका दिनहरुमा सङ्गठनमा धेरै असर नपर्ला भन्न सकिन्न । र अर्को कुरा समुदायको ब्यक्ति विशेषहरु केन्द्रीय नेताज्युहरुको वरपर नजीक भएर पनि यी कुरामा ध्यानाकर्षण गराउन नसक्नु बिडम्बना दुःखद छ ।

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिकमा ५७ सिट पाएको छ । रास्वपाले विभिन्न क्लस्टर मिलाएर आयोगमा आइतबार नै सूची बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?