को चुनिएलान् कांग्रेस संसदीय दलको नेता ?

लोकपथ
490
Shares

काठमाडौं । निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको नेपाली कांग्रेस अहिले संसदीय दलको नयाँ नेताको खोजीमा छ । पार्टी जीवनमै कडा हारको स्वाद चाखेको कांग्रेस विस्तारै तङ्ग्रिएर नयाँ रणनीतिसहित अघि बढ्ने तयारीमा देखिएको छ ।

विशेष महाधिवेशनपछि नयाँ नेतृत्वसहित चुनावमा गएको कांग्रेसले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित मतदाता सामु अपिल गरेको थियो । तर जनमतले सरकार सञ्चालनको म्याण्डेट नदिएपछि कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सीमित भएको छ ।

संसदीय राजनीतिमा प्रचलित भनाइ छ– ‘सरकार सत्ता पक्षको र संसद प्रतिपक्षको ।’ सरकार जति बलियो हुन्छ, त्यसलाई खबरदारी गर्ने प्रतिपक्ष पनि त्यत्तिकै सशक्त हुनुपर्ने मान्यता छ । यही कारण आगामी पाँच वर्ष संसदमा कांग्रेसले कस्तो भूमिका खेल्नेछ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।

यसपटकको निर्वाचन परिणामअनुसार रास्वपा लगभग दुई तिहाइ नजिकको बहुमतसहित सरकार गठनको अवस्थामा छ । कांग्रेस भने प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटसहित प्रमुख प्रतिपक्षी दल बनेको छ । संसदमा कांग्रेससँगै एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा र एक स्वतन्त्र सांसदको पनि प्रतिनिधित्व रहनेछ ।

संसदीय दलको नेताको खोजी

कांग्रेसले समानुपातिकतर्फका २० सांसदको नाम टुंग्याएर निर्वाचन आयोगमा बुझाइसकेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त सूची पारित गरेको हो । योसँगै अब कांग्रेस संसदीय दलको नेता को बन्ला चासोको विषय बनेको छ । अहिले कांग्रेसका पदाधिकारीमध्ये कोही पनि प्रतिनिधिसभामा निर्वाचित नभएकाले संसदीय दलको नेताको खोजी अझ चासोको विषय बनेको छ । बलियो सरकारको निगरानी गर्ने प्रमुख जिम्मेवारी प्रतिपक्ष दलको हुने भएकाले संसदमा खरो आवाज उठाउन सक्ने नेतृत्व आवश्यक पर्ने कांग्रेसभित्र आवाज उठिरहेको छ । समानुपातिकबाट आउने केही नेता वा प्रत्यक्ष निर्वाचित सांसदहरूमध्येबाट संसदीय दलको नेता चयन हुने सम्भावना देखिएको छ ।

चर्चामा रहेका सम्भावित नाम

अर्जुननरसिंह केसी र भीष्मराज आङ्दाङ्वेको नाम पनि संसदीय दलको नेताका लागि चर्चामा छ । दुवै नेता पार्टीका पूर्व सहमहामन्त्री हुन् । दुवै नेतासहित अन्य २० जनाको नाम कांग्रेसले पार्टी बैठकबाट अनुमोदन गरी अयोगलाई बुझाइसकेको छ ।

पटकपटक मन्त्री भइसकेका केसी संसदीय अनुभवका हिसाबले बलियो मानिन्छन् । तर उनी सभापति गगनकुमार थापाका ससुरा पनि भएकाले उनलाई संसदीय दलको नेता बनाउँदा राजनीतिक विवाद हुन सक्ने भन्दै केही नेताहरूले विकल्प खोज्नुपर्ने सुझाव दिएका छन् ।

त्यसो त प्रत्यक्ष निर्वाचितबाट संसदीय दलको नेता बनाउनुपर्ने आवाज पनि उत्तिकै उठिरहेको छ । चर्चामा आएका सम्भावित नेतामध्ये रसुवाबाट निर्वाचित मोहन आचार्य, इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित निश्कल राई, पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित सन्दीप राना तथा मुस्ताङबाट निर्वाचित योगेश गौचन थकाली रहेका छन् ।

कांग्रेसभित्र अहिले एकथरी नेताहरू संसदमा प्रभावशाली भूमिका निर्वाह गर्न अनुभवी नेतृत्व आवश्यक रहेको बताउँछन् ।अर्कोतर्फ पार्टीको नयाँ नेतृत्वसँगै संसदीय दलको नेतृत्वमा पनि युवालाई अघि सार्नुपर्ने आवाज उठिरहेको छ । रसुवाबाट लगातार जित हासिल गरेका इञ्जिनियर मोहन आचार्यलाई अनुभव र युवा नेतृत्व दुवैको प्रतिनिधित्व गर्न सक्ने नेताका रूपमा हेरिएको छ । लगातार तेस्रोपटक प्रत्यक्ष निर्वाचन जितिसकेका आचार्य संसदीय अभ्यासमा समेत अनुभवी मानिन्छन् । ४८ वर्षका आचार्य लगातार दोस्रो पटक कांग्रेस केन्द्रीय सदस्य छन् ।

अहिलेसम्मको राजनीतिक ट्र्याकरेकर्डमा बेदाग छवि रहेका ईञ्जिनियर आचार्य राजनीतिसँगसँगै व्यवसायमा समेत सक्रिय छन् । राजनीतिलाई पेसा बनाइनुहुन्न भन्ने धारणा राख्ने आचार्यको पार्टी सभापति गगनकुमार थापासँग समेत उत्तिकै निकटता रहेको छ । नेतृत्वसँगको निकटताले कामका लागि कार्यगत समन्वय गर्न सहज हुने हुँदा पनि उनलाई संसदीय दलको नेता बनाएर कांग्रेस अघि बढ्नुपर्ने आवाज समेत कांग्रेस वृत्तमा उठिरहेको छ ।

युवातर्फ भने निश्कल राई, योगेश गौचन थकाली र सन्दीप रानाको नाम चर्चामा छ । यीमध्ये योगेशले यसअघि मुस्ताङबाट प्रत्यक्ष चुनाव जितेर छोटो समय संसदमा काम गरिसकेका छन् भने निश्कल र सन्दीप पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?