काठमाडौं । काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
ग्यास हुँदाहुँदै छैन भन्दै ग्राहकलाई नदिने, ग्यास पाइँदैन भन्दै बढी मूल्य असुल्ने तथा इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै उपभोक्तालाई फर्काउने गुनासो आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको जनाएको छ।
कामपाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य बढी लिने तथा सर्वसाधारणको जनजीवनमा असहज अवस्था सिर्जना गर्नेमाथि कारबाही गरिने बताए। उनका अनुसार नेपाल आयल निगमले ग्यासको मूल्य आधा सिलिन्डर रु ९५५ तोकेको छ र यही मूल्यमा खरिदबिक्री गर्न व्यवसायी तथा उपभोक्तासँग महानगरले आग्रह गरेको छ।
काफ्लेका अनुसार ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले आवश्यकभन्दा बढी भण्डारण गर्न थालेकाले पनि बजारमा अभाव देखिएको हो। यसरी सञ्चिति गर्दा माग र आपूर्तिको चक्रमा असर पर्ने भएकाले उपभोक्ताले जिम्मेवारपूर्वक ग्यास प्रयोग गर्नुपर्ने उनले बताए।
त्यस्तै पेट्रोल पम्पहरूले मौज्दात इन्धन हुँदाहुँदै सवारीसाधनलाई उपलब्ध नगराएको सूचना आएकाले महानगरले त्यसमा पनि निगरानी सुरु गरेको जनाएको छ।
ग्यास वा इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि देखिएमा तथ्यसहितको जानकारी महानगरपालिकाको ‘हटलाइन नम्बर’ ११८० मा दिन सकिने व्यवस्था गरिएको छ। प्राप्त विवरणका आधारमा महानगरले आवश्यक निगरानी तथा कारबाही गर्ने जनाएको छ।
ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्यासको आपूर्ति हालसम्म नियमित छ। उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया