एमाले सचिवालय बैठक : समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस

लोकपथ
266
Shares

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाएको हो ।

बैठकले क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

निर्णयअनुसार आदिवासी जनजाति क्लस्टरतर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) रहेका छन् ।

खस आर्य क्लस्टरतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र तथा अपाङ्गता र महिला क्लस्टर) समावेश छन् ।

त्यस्तै थारुतर्फ कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक र नीता घतानी रहेका छन्। मधेसी क्लस्टरतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरुष) चयन भएका छन् भने मुस्लिम क्लस्टरतर्फ साजिदा सिद्धिकी परेकी छन् ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीका ९७ वर्षीय बुवाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । ओलीका बुवाको शुक्रबार बिहान निधन भएको थियो। बैठकले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

यसैगरी, फागुन २८ गते पार्टीको समीक्षा बैठकका क्रममा हृदयघातबाट निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारका क्रममा हृदयघातबाट निधन भएका पूर्वकेन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष खगेन्द्र राईप्रति पनि बैठकले शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?