काठमाडौं । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रतिको सरकारले गम्भीरता र सजगता कायम राखेको बताएका छन् ।
शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा उनले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकार उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।
मन्त्री शर्माले मध्यपूर्वमा विकसित घटनाक्रम र त्यसले हवाई सेवामा पारेको प्रभावका कारण नेपाली नागरिकहरूको आवतजावतमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै सम्भावित आपतकालीन अवस्थामा समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ सञ्चालनमा ल्याएको जानकारी दिए ।
कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली र स्वदेशमा रहेका परिवारबीच सूचना आदानप्रदान र समन्वयको सेतुको काम हुने उनले बताए । उनले पश्चिमी एशिया क्षेत्रका नेपाली नागरिकहरूलाई कुनै समस्या वा कठिनाइ परेमा तुरुन्त त्यहाँको नेपाली राजदूतावासको सम्पर्कमा रहन अपिल समेत गरे ।
शर्माले भने, ‘विश्वका केही क्षेत्रहरूमा देखिएका अस्थिरता र द्वन्द्वले प्रवासमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढाएको छ । विशेषगरी पश्चिमी एशिया तथा मध्यपूर्व क्षेत्रका घटनाक्रमले त्यहाँ कार्यरत नेपालीहरूको अवस्था प्रत्यक्ष असर पारेको छ । यस परिस्थितिमा नेपाल सरकारले विदेशमा रहेका नेपालीको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक समन्वय अघि बढाएको छ ।’
उनले एनआरएनएले विषम परिस्थितिमा विदेशी नेपालीको हकहित संरक्षणका लागि गर्दै आएको सहयोग उल्लेखनीय रहेको बताए । भूकम्प, बाढीपहिरो, र कोभिड–१९ महामारीको समयमा गैरआवासीय नेपालीहरूले पुर्याएको योगदानको स्मरण गर्दै, आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहनेमा आशावादी रहेको पनि उनले व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया