संविधानले दिएको अधिकार अझै पाएनौँ, बिना प्रहरीको सरकार चलाइरहेका छौँ : मुख्यमन्त्री यादव

लोकपथ
42
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवलले प्रदेश सरकार बिना प्रहरी प्रशासन सञ्चालन गर्नुपरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वका कुनै पनि ठाउँमा प्रहरी प्रशासनबिनाको सरकार नहुने उल्लेख गर्दै नेपालमा भने प्रदेश सरकारहरूले यस्तो अवस्था भोग्नुपरेको बताएका हुन् ।

उनले संविधानले परिकल्पना गरेका अधिकार प्रदेशले अझैसम्म पूर्ण रूपमा नपाएको गुनासो गरे । संविधान कार्यान्वयन भएको आठ वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रदेशलाई आवश्यक अधिकार हस्तान्तरण नभएको उनको भनाइ थियो ।

मुख्यमन्त्री यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जनकपुरको तिरहुतिया गाछीमा दिएको अभिव्यक्तिको स्मरण गर्दै प्रदेशलाई अधिकार दिनुपर्ने धारणा व्यक्त गरेकोमा धन्यवाद दिए । 

उनले साहले ‘अब अधिकारका लागि होइन, पशुपति दर्शन गर्न मात्र आउनू’ भनेको प्रसंग उल्लेख गर्दै त्यसलाई मधेस प्रदेशका लागि सकारात्मक संकेतका रूपमा लिएको बताए ।

यादवले मधेस प्रदेशमा प्रहरीका भौतिक संरचना अत्यन्तै कमजोर रहेको पनि औँल्याए । माओवादी द्वन्द्वकालमा क्षतिग्रस्त भएका भग्नावशेष भवनमै अहिले पनि प्रहरी बस्न बाध्य भएको उनले  भनाइ छ । 

उनका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रहरीका सवारी साधन जलाइएका र नष्ट गरिएका कारण त्यसको पूर्ति गर्ने दायित्व पनि थपिएको छ । प्रदेश प्रहरीलाई सुदृढ बनाउन प्रदेश सरकार मात्र नभई संघीय सरकारको पनि बराबर जिम्मेवारी रहेको उनले बताए ।

सीमित साधनस्रोतका बाबजुद प्रदेश सरकारले प्रत्येक वर्ष प्रहरीलाई सहयोग गर्दै आएको जानकारी दिँदै उनले मधेस प्रदेशमा प्रहरी संरचना सुधारका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

मुख्यमन्त्री यादवले २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकायले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?