‘निर्वाचन परिणाम अप्रत्याशित, कांग्रेस अब नयाँ ढंगले उठ्छ’

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन् ।

बुधबार पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरुबिचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रतिनिधि सभा निर्वाचनको नतिजा अपेक्षाभन्दा फरक आएको बताएका हुन् ।

कांग्रेस, एमाले, नेकपा तथा मधेस केन्द्रित दलहरूका लागि यो परिणाम केही हदसम्म अप्रत्याशित देखिएको उनले बताए । उनले निर्वाचन परिणामका यसबारे पार्टीभित्र थप छलफल हुन बाँकी रहेको उल्लेख गरे ।

निर्वाचन परिणामले पुराना दलहरूको हैसियत झण्डै उस्तै देखिएको उनको भनाई छ । उनले हाल निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने विषयले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने बताए ।

उनले भने, ‘यो अप्रत्याशित लाग्यो मलाई, तथापि पार्टीभित्र छलफल गर्न बाँकी छ । पुराना दलहरुको हैसियत उस्तै उस्तै देखिन्छ, काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, त्यस्तै मधेस केन्द्रित दलहरु सबै पुराना दलहरुको लागि यो अप्रत्याशित जस्तो नै देखिन्छ । तथापि अहिले निर्वाचित भएर आउने राष्ट्रिय स्वतन्त्र पार्टीका माननीयहरु हुनुहुन्छ, उहाँहरुले देशको हितमा, जनताको हितमा कति राम्रो कामहरु गर्नुहुन्छ । त्यसमा धेरै कुरा भर पर्छ नी अब ।’

उनले बदलिँदो राजनीतिक परिस्थिति र नयाँ शक्तिको उदयले आफुहरुको भुमिकामा पनि परिवर्तन आएको बताए । उनले नयाँ परिवेशमा राष्ट्रिय सभाले निर्वाह गर्ने भुमिका अझ महत्वपूर्ण हुने उल्लेख गरे ।

त्यस्तै उनले पार्टीको आन्तरिक विवादसँग जोडिएर सर्वोच्च अदालतमा पुगेको मुद्दालाई छिटो किनारा लगाउन आग्रह समेत गरे ।

विशेष महाधिवेशनबारे नेता सिटौलाले संस्थागत रूपमा आफूहरूले त्यसलाई आवश्यक नठानेको स्पष्ट पारे ।

पार्टीको आन्तरिक विषयलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाले पार्टीको आगामी बाटो तय गर्न प्रभाव पार्ने भएकाले यसलाई छिटो टुङ्ग्याउनुपर्नेमा उनको जोड छ । अदालतको फैसलापछि मात्रै पार्टीभित्रको अन्योल हटेर अगाडि बढ्न सहज हुने उनको भनाइ छ ।

उनले भने, ‘ विशेष महाधिवेशनलाई हामीले उचित ठानेका छैनौँ अहिलेसम्म पनि । अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा छ त्यसलाई छिट्टै टुङ्ग्याओस् हामी त्यही चाहन्छौँ र सर्वोच्च अदालतका न्यायाधीशहरूले त्यसलाई छिट्टै टुङ्ग्याइदिए हुन्थ्यो । त्यति मात्रै हाम्रो रिक्वेस्ट हो कसरी टुङ्ग्याउँछ हेर्न बाँकी छ नि त ।’

यद्यपि अदालतले उक्त मुद्दालाई कुन रूपमा फैसला गर्छ भन्नेकुरा भने प्रतिक्षाकै विषय रहेको उहाँले बताए । पार्टीको आन्तरिक विवाद अदालतसम्म पुग्नु र नेतृत्व तहबाटै अदालतको फैसलाको प्रतिक्षा गरिनुले कांग्रेसभित्रको वर्तमान राजनीतिक तरलता र गुटगत मतभेदलाई प्रस्ट पारेको छ ।

अदालतको फैसला आएपछि मात्रै पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा थप छलफल हुने नेता सिटौलाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?