विशेष महाधिवेशनले पार्टी हार्‍यो, सभापतिले राजीनामा दिनुपर्छ : जितजंग बस्नेत

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसका पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरुबिचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो माग गरेका हुन् ।

विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद बस्नेतले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे ।

उनले पार्टीको विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताए । सांसद थापाले कांग्रेसले जनताले दिएको म्यान्डेटलाई स्वीकार गर्दै अघि बढ्ने पनि बताए ।

उनले भने, ‘जनताले जुन म्याण्डेट दिएको छ । त्यो स्वीकार्य छ । त्यही माण्डेटअनुसार हामीले राम्रो काम गर्दै जानुपर्छ । मेरो स्पष्ट भनाई के हो भने विशेष महाधिवेशनको औचित्य समाप्त भएको छ । नियमित महाधिवेशनवाला हामीले के भनेका थियौँ भने महाधिवेशन गरौँ । तर निर्वाचन आइसकेको छ । पार्टीमा सहमति, सहकार्य राष्ट्रिय एकता हुनुपर्ने हो नि त । पार्टीको नीति भनेकै एकता, सहमति र सहकार्य हो नि त । सबै नेताहरुले त्यो गर्दै चुनावमा एकजुट भएर जाऔँ अधिवेशन चाहीँ चुनाव पछि नै गरौँ भनेका थियौँ । तर त्यो कुरा मानिएन । विशेष अधिवेशन नामको एउटा भेला गरियो । र पार्टीलाई क्याप्चर गरियो । यो विशेष महाधिवेशनबाट सेटिङ अनुसार पार्टी क्याप्चर भएको हो । यो कुरा मैले हिजो पनि भनेको हो, अहिले पनि भन्छु, भोली पनि भन्छु–निर्वाचन आयोगमा सेटिङ अनुसार क्याप्चर भएको हो पार्टी । यही विशेष अधिवेशनको कारणले आज हामी हारेका छौँ । फेरि उठनु छ । मैले भनिसके–हामीमा एकता हुनुपर्‍यो । त्यो एकता भएन । विशेष महाधिवेशनको कारणले हारियो । गगन थापाजीले राजीनामा दिनुहुन्छ भन्ने मेरो विश्वास हो ।’

सांसद बस्नेतले गगन थापा लगायतका नेताहरुले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?