सत्ता सहयात्री बाहिरै छुटे, ‘पूर्वप्रधानमन्त्री’बाट संसदमा अब प्रचण्ड मात्रै

लोकपथ
154
Shares
फाइल तस्बिर

काठमाडौं । फागुन २१ को निर्वाचनको मतपरिणाम आइसकेको छ । प्रत्यक्ष र समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबदबा कायम छ । रास्वपाले प्रत्यक्षमा १२५ सिट जितेको छ भने समानुपातिकमा ५१ लाख बढी मत प्राप्त गर्दा कांग्रेस प्रत्यक्षमा १८ र समानुपातिकमा १७ लाख बढी मत ल्याएको छ ।

केही दिनपछि समानुपातिकमा प्राप्त मतको बाँडफाँटपछि सिट संख्या बाँडफाँट हुनेछ । त्यसो हुँदा रास्वपा दुई तिहाई नजिक पुग्नेछ भने नेपाली कांग्रेस दोस्रो, एमाले तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो शक्ति बनेर संसद अघि बढ्नेछ ।

हुन त हरेक पटकको संसदमा नयाँ परिदृश्य देखिन्छ । यो पटक भने थप रोचक परिदृश्य संसदमा देखिनेछ । अबको संसद युवामैत्री, नयाँ र फ्रेस माइण्डका नेताहरु पुगेका छन् ।

पूराना जो वर्षौँदेखि सत्ता र संसदमा थिए उनीहरुको संसदीय राजनीतिमा तत्कालका लागि ब्रेक लाग्न पुगेको छ ।

‘भूतपूर्व प्रधानमन्त्रीहरुको म्यूजिकल चिअर’ को रुपमा रहेको सत्ताको खेलमा ब्रेक लाग्नेछ । रास्वपाभित्र आन्तरिक किचलो नदेखिएको अवस्थामा अब बन्ने सरकारलाई सत्ता टिकाउनकै लागि कसैसँग कुनै मोलाहिजा र कसैको सर्त मानिदिनुपर्ने बाध्यता देखिँदैन ।

अब बन्ने संसद रोचक यस मानेमा पनि बन्नेछ कि अब पूर्वप्रधानमन्त्रीमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै संसदमा रहनेछन् ।

फागुन २१ को निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । प्रचण्डसहित केपी शर्मा ओली, शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्द अहिले पूर्वधानमन्त्रीको हैसियतमा छन् । तर गत निर्वाचनमा ओली, नेपाल र प्रचण्डमा प्रतिष्पर्धामा थिए ।

बाबुराम गोरखा–२ बाट उम्मेदवार रहे पनि अन्तिम अवस्थामा उम्मेदवार निष्कृय बनाएर बसे । यता ओली झापा क्षेत्र नं ५ र माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट पराजित बन्न पुगे । शेरबहादुर देउवा र झलनाथ खनाललाई पार्टीले टिकट नै दिएन भने लोकेन्द्र बहादुर चन्द गणतन्त्रपछि चुनाव नै लडेका छैनन् ।

०७९ सालको निर्वाचनमा नेपाली कांग्रेससँग तत्कालीन माओवादी केन्द्रको गठबन्धन थियो । चुनावपछि पनि कांग्रेस माओवादी मिलेर नै सरकार बनाउने सहमति थियो । तर एकाएक प्रचण्ड एमालेसँग सत्ता सहयात्रामा लागेपछि सहमति भाँडिन पुग्यो ।

फेरि पछि संसदको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदा प्रचण्ड सत्ता बाहिर हुन पुगे । अहिले प्रचण्डको पार्टीको आकार खुुम्चिएर धेरै सानो बन्न पुगेको छ । तै पनि चौथो शक्ति प्रचण्डले नेतृत्व गरेको नेकपा बन्ने देखिन्छ । तर प्रचण्डले चुनाव जितेपछि रास्वपालाई पनि आफ्नो खाँचो हुने दाबी मात्र गरेका छैनन्, थोरै सिट आएको भनेर नहेप्न समेत चेतावनी दिएका छन् ।

झण्डै दुई तिहाईको नजिक रहे पनि रास्वपा २ तिहाई पुग्न सकेन । तर प्रचण्डको दल मिलेमा रास्वपा दुई तिहाई शक्तिमा पुग्न सक्ने देखिन्छ ।

त्यसो कांग्रेसबाट देउवा, एमालेबाट ओली, माओवादी र अहिलेको नेकपाबाट प्रचण्ड र माधव नेपालहरुबिच सत्ताका लागि बार्गेनिङ, एकअर्कासँग सम्बन्ध सुधार र विग्रह हुनु नौलो थिएन । अहिले भने अन्य नेताहरु सत्ता बाहिर रहनेछन्, जसकारण पनि यसअघि भन्दा संसदमा प्रचण्ड नै रहे पनि पूराना शक्तिहरुको सत्ताका लागि कुनै शक्ति चल्नेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?