तुल्सी अधिकारीको भैँसेपाटीमा ४ करोड बढीको घर : छोरी र आफ्नो नाममा करोड बैंक ब्यालेन्स

चीनको क्यानेडियन स्कुलमा प्रतिवर्ष १५ लाख तिरेर छोरीलाई भर्ना

लोकपथ
1.2k
Shares

काठमाडौं । टिकटकर तुल्सी अधिकारीविरुद्ध दर्ता भएको आपराधिक लाभ र ठगीको कसुरमा अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलमा रायसहितको प्रतिवेदन बुझाएको छ । प्रहरीले आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लामो अनुसन्धान गरी तुल्सी अधिकारीविरुद्ध २० करोड २७ लाख ५९ हजार ९०६ रुपैयाँबराबरको बिगो कायम गरी मुद्दा दायर गर्न प्रतिवेदन दिएको पाइएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले तुल्सीविरुद्ध मुद्दा दायरका लागि रायसहितको प्रतिवेदन प्राप्त भएको र उक्त प्रतिवेदन अध्ययनको काम भइरहेको जनाएको छ । 

मुद्दाको रायसहितको प्रतिवेदन मात्रै करिब ४ सय पृष्ठको रहेको र त्यसमा संलग्न प्रमाणहरू करिब २ हजार पृष्ठको रहेको कारण यी सबैको अध्ययन सुरु गरिएको जनाएको छ ।  

सरकारी वकिल कार्यालय स्रोतका अनुसार प्रतिवेदन अत्यन्तै ठूलो भएका कारण अध्ययन गर्न समय लाग्ने भएकाले चैतको पहिला सातासम्म पूरै फाइल अध्ययन गरी मुद्दा दायर गर्ने तयारी गरिएको जनाएको छ ।

के हो तुल्सी अधिकारीको हनी ट्र्याप र सम्पत्ति शुद्धीकरणको मुद्दा ?

तुल्सी कलेक्सनको नामबाट परिचित टिकटकर तुल्सी अधिकारीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा २०८२ साउन २२ गते आपराधिक लाभ र ठगीको कसुरमा शंकर चिमोरिया (परिवर्तित नाम) ले जाहेरी दिएका थिए । शंकरले दिएको जाहेरीमा आफूलाई परिबन्दमा पारी ब्ल्याकमेल गरी तुल्सी अधिकारीले करिब ६ करोड रुपैयाँको आपराधिक लाभ लिई ठगी गरेको उल्लेख थियो ।

तर शंकरले प्रहरीमा बुझाएको प्रतिवेदनमा भने करिब ४ करोड ५० लाख रुपैयाँबराबरको लेनदेन देखिएको थियो । 

सोही जाहेरीलाई लिएर अनुसन्धान सुरु गरेको प्रहरीले पछि तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गर्नुपर्ने भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुमतिका लागि निवेदन दिएको थियो ।

तर सम्पत्ति शुद्धीकरणमा अनुसन्धान विभागमा त्यसअघि नै तुल्सीविरुद्ध उजुरी परेको पाइएपछि विभागले उक्त उजुरी पनि सातदोबाटो प्रहरीलाई नै पठाइदिएको थियो । त्यसपछि प्रहरीले विस्तृत अनुसन्धान गरी २० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण समेतको बिगो कायम गरी मुद्दा दायरका लागि रायसहितको प्रतिवेदन दिएको हो ।

टिकटकर तुल्सी अधिकारी ।

जाहेरवाला अर्थात् पीडित भनिएका चिमोरियाले लोकपथसँगको कुराकानीमा आफूलाई तुल्सी अधिकारीले ६ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको बताए । तुल्सीसँग चिनजान हुँदा करिब ८ करोड रुपैयाँ रहेको आफ्नो ऋण अहिले बढेर १६ करोड ७० लाख रुपैयाँ पुगेकोसमेत चिमोरियाले बताए ।

तुल्सी अधिकारी र चिमोरियाको सम्बन्ध, विवाद, ब्ल्याकमेल आदिको विषयमा लोकपथमा यसअघि नै ३ अंक प्रकाशन भइसकेको छ । 

फोटो र भिडियो देखाएर गर्थिन् ब्ल्याकमेल

पीडित भनिएका शंकर चिमोरियाका अनुसार तुल्सीले पहिले सम्बन्ध बनाउँथिन् । अन्तरंग सम्बन्धको फोटो र भिडियो गोप्यरुपमा रेकर्ड गर्ने गर्थिन् र पछि त्यही फोटो र भिडियो देखाएर पटकपटक सार्वजनिक गरिदिने धम्की दिँदै रकम लिने गरेकी थिइन् । रकम नदिए पुरुष अर्थात् पीडितको श्रीमती, परिवार तथा आफन्तसमेतलाई भनिदिने धम्की दिने र कतिपय अवस्थामा फोटो र भिडियोसमेत देखाएर धम्काउने गरेकी थिइन् । 

तुल्सीको यस आपराधिक कार्यमा नेपाली कांग्रेसकी नेतृ, उनकी सहयोगी नेलिका लामिछानेलगायत ८ जनाको संलग्नता रहेको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर गर्न रायसहितको प्रतिवेदन दिइएको छ ।

के-के छ तुल्सीको सम्पत्ति ?

२० करोड रुपैयाँभन्दा बढी रकमको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्न राय दिइएको उक्त मुद्दा तुल्सी अधिकारी र एकाघरका सदस्यको नाममा रहेको सम्पत्तिहरूको विवरण समेत प्रहरीले खोजविन गरेको छ । 

भैँसेपाटीमा ४ करोड बढीको घर

तुल्सी अधिकारीले आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण गरी ललितपुरको भैँसेपाटीमा ४ करोड रुपैयाँभन्दा बढी रकमको घर खरिद गरेको पाइएको छ । तुल्सीले २०८२ असार १० गते ललितपुरको सैँबु–४, भैँसेपाटीमा ४ आना क्षेत्रफलमा बनेको घर कम्तीमा ४ करोड रुपैयाँमा खरिद गरेको पाइएको छ । कित्ता नम्बर १४३० को उक्त घर नीति गुप्ताको नामबाट तुल्सीले आफ्नो नाममा ल्याएकी थिइन् । 

मालपोत कार्यालयको लिखतमा उनले उक्त घर २ करोड रुपैयाँमा किनेको देखाएर त्यसबापतको ७ लाख ९५ हजार रुपैयाँसमेत राजश्व तिरेको देखिएको छ । 

तर घर बिक्रीकर्ता नीति गुप्ताको बैंकको कारोबार हेर्दा उनलाई चेक र डिपोजिट गरी कुल ३ करोड ७५ लाख रुपैयाँ बैंकिङ कारोबारमार्फत नै दिइएको पाइएको छ । 

प्रहरी अनुसन्धानका क्रममा नीति गुप्ताले बयान दिँदा उक्त घर ४ करोड रुपैयाँमा बेचेको र त्यसबापतको लाभकर समेत तुल्सी अधिकारीले नै तिरेको बयान दिएकी छिन् । उक्त क्षेत्रमा अहिले जग्गाको मूल्य नै प्रतिआना ८० लाख रुपैयाँ रहेको स्थानीयको भनाइ छ । ८० लाख प्रतिआना जग्गाको मूल्य पर्दा ४ आना जग्गाको मूल्य नै ३ करोड २० लाख रुपैयाँ पर्न जान्छ । 

उक्त जग्गामा घर तयार हुँदा १ करोड ३० लाख रुपैयाँ मात्रै खर्च भए पनि घर तयार हुँदा ४ करोड ५० लाख रुपैयाँ पुग्छ । त्यसमा तुल्सीले तिरेको करिब ८ लाख राजश्व र लाभकरको हिसाब गर्दा उक्त घर करिब ४ करोड ७० लाख रुपैयाँमा खरिद गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि रायसहितको प्रतिवेदनमा भने ४ करोड मात्रै कायम गरिएको छ । 

सुनवलमा १० धुरको घडेरी

ललितपुरमा घर किन्नुभन्दा करिब ६ महिना अगाडि मात्रै तुल्सी अधिकारीले रुपन्देहीको बुटवलमा समेत घडेरी किनेको पाइएको छ । तुल्सीले २०८१ माघ २४ गते सुनवल ४, बुटवलमा कित्ता नम्बर ४१८ को १० धुर जग्गा ५ लाख रुपैयाँको लिखत गरेर किनेको पाइएको छ । 

सुनवलको घडेरी खरिद गर्दा ५ लाखमा किनेको देखाएपनि उनले जग्गाधनीलाई दिएको रकमहरूको हिसाब गर्दा २१ लाख रुपैयाँ दिएको पाइएको छ । त्यसकारण उक्त जग्गाको मूल्य पनि कम्तीमा २१ लाख रुपैयाँ कायम गरिएको छ । जबकि उक्त क्षेत्रमा १० धुरको घडेरीलाई कम्तीमा ३० लाख पर्ने बताइएको छ । 

१ करोडको पसल

प्रहरी अनुसन्धानका क्रममा प्रहरीले तुल्सी कलेक्सन नामको पसलसमेत जफत गरेको छ । उक्त पसलमा करिब ९० लाख रुपैयाँबराबरको सरसामान रहेको प्रहरीको प्रतिवेदन छ । पसलको डेकोरेसन सबै गर्दा पसलमा करिब १ करोड लगानी भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । उक्त पसल नियन्त्रणमा लिई त्यहाँ रहेका सबै सामानहरू प्रहरीले कसुरजन्य सम्पत्तिका रूपमा नियन्त्रणमा लिएको छ । 

बैंकमा करिब १ करोडको फिक्स्ड डिपोजिट र ब्यालेन्स

यता तुल्सी अधिकारीले आफ्नी छोरी ….. न्यौपानेको नाममा २२ लाख १५ हजार ५७१ रुपैयाँ र तुल्सी कलेक्सन तथा आफ्नो व्यक्तिगत नाममा समेत गरी थप ६७ लाख ६७ हजार ९०९ रुपैयाँ गरी कुल ८९ लाख ८३ हजार ४८० रुपैयाँ फिक्स्ड डिपोजिट राखेको पाइएको छ । उक्त सम्पत्ति पनि प्रहरीले रोक्का राखेको छ । 

त्यसबाहेक पीडित भनिएका शंकर चिमोरियाले आफूलाई दबाब दिएर किन्न बाध्य पारिएको भनिएको सुनसमेत नभेटिएको तर बैंकमा लकर भेटिएको कारण उक्त लकरसमेत रोक्का गरिएको छ । शंकरका अनुसार कम्तीमा ५० तोला सुन आफूलाई किन्न बाध्य पारिएको बताएका छन् । यदि ५० तोला सुन भएमा त्यसको हालको बजार मूल्य १ करोड ६० लाख रुपैयाँ हुन आउँछ । 

४ लाखको अप्रिला स्कुटर पनि बरामदीमा

यसबाहेक तुल्सी अधिकारीको नाममा रहेको बागमती प्रदेश ०२, ०३३प १८६२ नम्बरको अप्रिला स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिई बरामदीमा राखेको छ । उक्त स्कुटर नियन्त्रणमा क्रममा नेलिका लामिछाने नाम गरेकी युवतीले प्रयोग गर्दै आएकी थिइन् । नेलिकाविरुद्ध पनि मुद्दा दर्ताका लागि राय दिइएको छ ।

कुल २१ करोड ७४ लाखको कारोबार, वैध आय ४ लाख ३३ हजार मात्रै

तुल्सी अधिकारी र तुल्सी कलेक्सनको नामबाट विगत ७ वर्षमा कुल २१ करोड ७४ लाख ६९ हजार १५६ रुपैयाँ ५५ पैसाको कारोबार भएको पाइएको छ । त्यसमध्येबाट उनको वैध आय भने केवल ४ लाख २७ हजार ३३ रुपैयाँ मात्रै रहेको पाइएको छ ।

जागिर खाँदा प्रति महिना १६ हजार ५ सयदेखि बढीमा २९ हजार ७ सय रुपैयाँ पाएकी थिइन् ।

तुल्सी अधिकारीले आफूले जागिर खाएको बुटवलको लोकसुशीला अटो र ललितपुर ग्वार्कोको मेगा मोटर्समा जागिर खाँदा न्यूनतम १६ हजार ५ सय रुपैयाँदेखि अधिकतम २९ हजार ७ सय रुपैयाँसम्म पाएको देखिएको छ । 

तुल्सीले २०७५ भदौदेखि २०७६ चैत महिनासम्म बुटवलको लोकसुशीला अटोमा जागिर खाँदा न्यूनतम १६ हजार ५ सय रुपैयाँदेखि अन्तिम तलब र इन्सेन्टिभका रूपमा २१ हजार ५१४ रुपैयाँ पाएकी थिइन् । उक्त मोटर्समा काम गर्दा उनले कुल ३ लाख ३ हजार ७०४ रुपैयाँ तलबबापत आय गरेकी थिइन् । 

त्यसपछि काठमाडौं आएकी तुल्सीले ग्वार्कोको मेघा मोटर्समा ३ महिना काम गरेको देखिन्छ । त्यहाँ काम गर्दा तुल्सीले २०७७ मंसिरमा २३ हजार ७६० रुपैयाँ, पुसमा २९ हजार ७०० रुपैयाँ र माघमा १६ हजार ७१० रुपैयाँ मात्रै आय गरेको पाइएको छ । 

कम्पनीमा दुई वर्षमा करिब १५ लाख घाटा

तुल्सी अधिकारीले सञ्चालन गरेको तुल्सी कलेक्सन २०७९ फागुन २३ गते दर्ता भएको पाइएको छ । उक्त कम्पनीको २०८१ पुस २९ गतेसम्मको अडिट रिपोर्टमा उक्त कम्पनी ८ लाख ५४ हजार ५३९ रुपैयाँ घाटामा भएको देखिएको छ । पसलको भाडा, कर्मचारीको तलब तथा अन्य खर्च र आम्दानीको हिसाब गर्दा कम्पनी ८ लाख ५४ हजार घाटामा रहेको पाइएको हो ।

चीनमा पनि कम्पनी स्थापना

यता नेपालमा कम्पनी लगातार घाटामा गइरहँदा तुल्सीले चीनमा समेत कम्पनी खोलेको पाइएको छ । हुन्डीमार्फत रकम लगेर कम्पनी खोलेको आरोप तुल्सीमाथि लागेको छ । प्रहरी अनुसन्धानमा केही रकम हुण्डीमार्फत् चीनमा पठाएकोसमेत पाइएको छ । यता तुल्सीले चीनमा कम्पनी खोलेको टिकटकमार्फत नै स्वीकार गरेकी छिन् । यद्यपि पसल ठूलो रकमको नभएको उनले प्रष्टीकरण दिएकी छिन् ।

वार्षिक १५ लाख तिरेर छोरीलाई चीनको इन्टरनेसनल स्कुलमा भर्ना

यता आम्दानीको कुनै स्रोत नभएको, चलाएको कम्पनी पनि घाटामा रहेको पसलकी सञ्चालिका तुल्सी अधिकारीको नेपालमै करिब ७ करोडभन्दा बढी मूल्यको सम्पत्ति र बैंक ब्यालेन्स हुँदा उनले आफ्नी छोरीलाई चीनको अन्तर्राष्ट्रिय विद्यालयमा वार्षिक १५ लाख रुपैयाँ तिर्ने गरी अध्ययन गराइरहेकी छिन् । 

तुल्साकी छोरी … न्यौपाने यतिबेला चीनमा रहेको Maple Leaf International School कक्षा ८ मा अध्ययन गरिरहेकी छिन् । क्यानडामा मुख्यालय रहेको उक्त विद्यालय अत्यन्तै महँगो विद्यालय हो । उक्त विद्यालयमा वार्षिक ७० हजार चिनियाँ युयान अर्थात् नेपाली रकम करिब १५ लाख रुपैयाँ तिरेर तुल्सीले भर्ना गरेर अध्यापन गराइरहेकी छिन् । 

आरोपित तुल्सीअधिकारी यतिबेला चीनमा नै रहेकी छिन् । उनीसँग लोकपथले समेत कुरा गरिसकेको छ र त्यसको रेकर्ड लोकपथसँग सुरक्षित छ । उनले केही आरोपका सम्बन्धमा लोकपथसँग कुराकानी गरी खण्डन गरेकी छिन् । उनले केही आरोप सत्य रहेको, केही अर्धसत्य रहेको र केही पूर्णतः गलत रहेको बताएकी छिन् । जाहेरवाला शंकर चिमोरिया (नाम परिवर्तन)सँग सम्बन्धमा रहेको स्वीकार गरे पनि त्यो हनी ट्र्याप नभएको उनको प्रस्टीकरण रहेको छ ।

(यसअघि तुलसा अधिकारी लेखिएकोमा उनको आधिकारिक डकुमेन्टहरुमा तुल्सी अधिकारी रहेकाले सच्याइएको छ ।)*

तुल्सी अधिकारी प्रकरणका यसअघि प्रकाशित सामग्रीहरु पढ्नुभयो ?

तुलसाको हनीट्रयाप जालोमा जोडिएकी थिइन् कांग्रेस नेतृ, गरेकी थिइन् चिमोरियाको अपहरण

टिकटक स्टार तुलसाको हनीट्र्याप जालो : अन्तरंग फोटो र भिडियो देखाएर गर्थिन् ब्ल्याकमेल

…. अनि मैले आत्महत्या गर्न विष पिएँ : चिमोरिया




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?