गगनलाई गोपालमानको सुझाव : ‘कांग्रेसलाई रूपान्तरण गर्नुस्, राजीनामा नदिनुस्’

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीका सभापति गगनकुमार थापालाई सभापति पदबाट राजीनामा नदिन सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाअनुसार नतिजा ल्याउन नसकेको विषयमा भइरहेको आलोचना र राजीनामाको प्रसङ्गलाई लक्षित गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

श्रेष्ठले अहिलेको कठिन घडीमा राजीनामा दिनु वा माग्नु पार्टी र देश दुवैको हितमा नहुने बताएका छन् । सभापति थापालाई सम्बोधन गर्दै उनले निर्वाचन परिणामभन्दा पनि लोकतन्त्रको रक्षा, विधिको शासन सुदृढीकरण र राजनीतिक अस्थिरताको अन्त्य कांग्रेसका लागि मुख्य चासोको विषय भएको उल्लेख गरेका छन् ।

उनले निर्वाचन परिणामलाई नेतृत्वको असफलता मात्र नभई जनताको परिवर्तनको चाहनाअनुसार कांग्रेसलाई रूपान्तरण गर्न नसकिएको चेतावनीका रूपमा लिनुपर्ने बताएका छन् । चुनावले कांग्रेसलाई समयसापेक्ष बन्न र युवाहरूको आकांक्षा आत्मसात् गर्न गहिरो सन्देश दिएको उनको भनाइ छ ।

श्रेष्ठले अब वडा तहदेखि केन्द्रसम्म संगठन सुदृढीकरण गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । साथै उनले थापाको साहस, दूरदृष्टि र युवालाई प्रेरित गर्ने क्षमताको प्रशंसा गर्दै सबै कांग्रेसीजन एकढिक्का भएर नेतृत्वलाई साथ दिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?