सबैभन्दा ठूलो मतान्तरको कीर्तिमान बनाएका डा. लेखजंग

लोकपथ
420
Shares

काठमाडौं । रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. लेखजंग थापा नेपालको संसदीय निर्वाचन इतिहासमै सबैभन्दा ठूलो मतान्तरले विजयी हुने सांसदका रूपमा चर्चामा आएका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार बनेका थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दै शानदार विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङ भने ८ हजार ४३५ मतमै सीमित भए ।

यससँगै थापा र गुरुङबीचको मतान्तर ५० हजार ३७९ रहेको छ । यो मतान्तरलाई धेरैले नेपालको संसदीय निर्वाचन इतिहासकै अभूतपूर्व र कीर्तिमानी विजयका रूपमा व्याख्या गर्न थालेका छन् ।

तथ्यांकअनुसार वि.सं. २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनदेखि हालसम्म यति ठूलो मतान्तरले कोही पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको उदाहरण भेटिँदैन । त्यसैले पनि थापाको यो जीतलाई नेपाली संसदीय राजनीतिमा एक नयाँ रेकर्डका रूपमा हेरिएको छ ।

यसै निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नं. ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै ठूलो मतान्तरसहित विजय हासिल गरेका थिए । शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत पाएका थिए।

यस हिसाबले शाह र ओलीबीचको मतान्तर ४९ हजार ६१४ रहेको थियो, जुन यसपटकको निर्वाचनमा दोस्रो ठूलो मतान्तर मानिएको छ । त्यसैले बालेन शाहभन्दा पनि ठूलो मतान्तरले विजयी भएका डा. लेखजंग थापा अहिले राष्ट्रिय राजनीतिक चर्चाको केन्द्रमा आएका छन् ।

करिब १६ वर्षभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा सक्रिय रहेका थापा पेशाले वरिष्ठ न्युरोलोजिस्ट हुन् । बिरामीको उपचारसँगै स्वास्थ्य सेवा सुधारका विषयमा निरन्तर सक्रिय रहँदै आएका उनी स्वास्थ्य प्रणालीका चुनौती र कमजोरीहरू नजिकबाट बुझेका चिकित्सकका रूपमा चिनिन्छन् ।

स्वास्थ्य क्षेत्रको गहिरो अनुभव र जनताको व्यापक समर्थनका कारण धेरैले उनलाई अब भाबी सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गर्न सक्ने सम्भावित पात्रका रूपमा समेत चर्चा गर्न थालेका छन् ।

वि.सं. २०३४ सालमा भैरहवाको अञ्चलपुरमा जन्मिएका थापाले मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी (आन्तरिक चिकित्सा) र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम (न्युरोलोजी) अध्ययन पूरा गरेका छन् ।

त्यसबाहेक उनले हार्वर्ड विश्वविद्यालयबाट ‘सेफ्टी, क्वालिटी एन्ड लिडरशिप’ विषयमा ग्राजुएट अध्ययन समेत गरेका छन्, जहाँ उनले स्वास्थ्य नेतृत्व, नीति निर्माण र स्वास्थ्य सेवा गुणस्तर सुधारसम्बन्धी अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका छन् ।

चिकित्सकका रूपमा इमानदार, संवेदनशील र समर्पित व्यक्तित्वका रूपमा चिनिने थापा सामाजिक अभियन्ता र प्रेरणादायी वक्ताका रूपमा पनि युवापुस्तामा लोकप्रिय मानिन्छन् ।

अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो अनुभव, ज्ञान र नेतृत्वलाई जनताको सेवामा समर्पित गर्दै विशेषगरी नेपालको स्वास्थ्य नीति, सेवा प्रणाली र जनस्वास्थ्य सुधारका क्षेत्रमा सक्रिय भूमिका खेल्ने उनले बताएका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ बहुमततर्फ उन्मुख देखिएको छ । यो समाचार तयार पार्दासम्म पार्टीले प्रत्यक्षतर्फ १२४ स्थानमा विजय हासिल गरिसकेको छ भने समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरिरहेको छ। मतगणना अझै जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?