मतदातासँग रविको बाचा– ‘पुराना बेथितिको हिसाब लिन्छौँ, प्रतिशोध लिँदैनौँ’

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देशमा विधिको शासन कायम हुने  बताएका छन् । 

शनिबार चितवन क्षेत्र नम्बर–२ बाट विजयी भएपछि मतदातालाई धन्यवाद दिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रहरी प्रशासनलाई पार्टीले चलाउने परम्पराको अन्त्य हुने बताए । 

सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले जितेपछि कर्मचारी र प्रशासनलाई तर्साउने काम नहुने स्पष्ट पारे । 

उनले कानुन सबैका लागि बराबर हुने भन्दै रास्वपाका नेता कार्यकर्तालाई पनि आम नागरिक सरह नै नियम लागू हुने बताए । आफूहरूले कसैसँग प्रतिशोध नलिने तर पुराना बेथितिको हिसाब भने पक्कै लिने उनको भनाइ छ । लामिछानेले आफ्ना शत्रु कुनै पनि राजनीतिक दल वा नेता नभएको प्रस्ट  पारे । 

उनले  भने,‘हिजोको दिनको राजनीतिक अभ्यास जस्तो प्रहरी प्रशासनलाई जित्ने पार्टीले चलाउने, कर्मचारीलाई जित्ने पार्टीले चलाउने काम रास्वपामा सम्भव छैन । रास्वपामा विधिको शासन हुन्छ । म घण्टी बजाउँदै हिँडेको हो भन्दै पुलिसलाई निहुँ खोज्ने, सिडिओलाई निहुँ खोज्ने, कर्मचारीलाई यो काम गरिनस् भनेर टेबल थर्काउने काम रास्वपाको एउटा मान्छेबाट पनि हुनेछैन ।’

सरकारको नेतृत्वमा पुगेको भोलिपल्टै बत्तीको स्विच थिचेजस्तो सबै कुरा जादुमय ढंगले नबदलिने भए पनि सुशासनको डण्डा भने पहिलो घण्टाबाटै चल्ने उनले चेतावनी दिए ।  शहीदहरूले सुशासनकै लागि प्राण आहुति दिएको स्मरण गर्दै उनले सुशासनको जगमा उभिएर समृद्धिको बाटोमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?