डडेल्धुरामा ढल्यो देउवाको विरासत, रास्वपाका जोशी निर्वाचित

लोकपथ
210
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नै कांग्रेस पराजित भएको छ ।

२०४८ सालदेखि नै डडेल्धुरामा देउवाले जित्दै आइरहेका थिए । तर यसपटकको निर्वाचनमा भने देउवा उम्मेदवार थिएनन् । कांग्रेसबाट नैनसिंह महर उम्मेदवार रहे पनि देउवाको जित भने जोगाउँन सकेनन् ।

डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ताराप्रसाद जोशीले जित हासिल गरेका छन् । जोशीले १९ हजार १ सय ३१ मत प्राप्त गर्दै जित हासिल गरे ।

नेपाली कांग्रेसका उम्मेदवार महरले १२ हजार १ सय २१ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मानसिंह मालले ६ हजार ८ सय ३४ मत प्राप्त गरे भने एमालेका चक्रप्रसाद स्नेहीले २ हजार ९ सय २६ मत प्राप्त गरेका छन् ।

पटकपटक मुलुकको नेतृत्व गरिसकेका देउवा कांग्रेसको समेत दुई पटक नेतृत्व गरिसकेका व्यक्ति हुन् । लामो संसदीय राजनीतिक इतिहास भएका देउवा राजनीतिका खेलाडी समेत मानिन्छन् । तर जेनजी आन्दोलनपछि पार्टीमा देखिएको पुस्तान्तरणको बहसले उनलाई पाखा लगायो ।

विशेष महाधिवेशनबाट गगनकुमार थापा कांग्रेस सभापति बनेपछि देउवा राजनीतिको रेसबाट बाहिरिए ।

जेनजी आन्दोलनका क्रममा बूढानिलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेर घाइते देउवा अहिले राजनीतिमा गुमनाम जस्तै देखिएका छन् । गत असोज अन्तिम साता बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सम्बोधन गरेपछि देउवा सार्वजनिक रुपमा देखिएका छैनन् ।

सुदूरपश्चिमको पनि दूर जिल्ला मानिने डडेल्धुराको गन्यापधुराबाट राष्ट्रिय राजनीतिमा उदाएका देउवा संसदीय राजनीतिमा गुमनाम जस्तै त बने नै । जीवनको उत्तराद्र्धमा न पार्टीमा शान्तिपूर्ण बहिर्गमन भयो न त आफ्नो गृहजिल्लामा कांग्रेसको विरासत नै जोगियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?