फागुन २३ : माधव नेपालको दुखद संयोग, जन्मदिनकै दिन संसदीय राजनीतिमा ठेस

लोकपथ
245
Shares

काठमाडौं । बिहीबार सम्पन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल ठूलो मतान्तरसहित पराजित हुन पुगे ।

रौतहट क्षेत्र नं १ बाट प्रतिष्पर्धा गरेका पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ७ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजेशकुमार चौधरीले २८ हजार ९ सय ४६ मतसहित जित हासिल गरे । यता नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले १० हजार ६ सय ९३ मत प्राप्त गरे । रौतहट–१ मा तेस्रो भएका नेपाली कांग्रेसका अनिलकुमार झाले ८ हजार ५ सय ७४ मत प्राप्त गरेका छन् ।

मुलुककै नेतृत्व गरिसकेका नेपाल जीवन र राजनीतिक जीवनको उत्तरार्द्धतिर आइपुग्दा नराम्रो हार ब्यहोर्न पुगेका छन् । उनी ठूलो मतान्तरसहित चौँथो बन्न पुगेका हुन् ।

फागुन २३ गते अर्थात् माधवकुमार नेपाल जन्मिएको दिन पनि हो । २००९ साल फागुन २३ गते स्वर्गीय पीता मंगलकुमार उपाध्याय र माता दुर्गादेवी उपाध्यायको सन्तानका रुपमा उनको जन्म भएको थियो ।

लामो राजनीतिक इतिहास भएका नेता नेपालले नेकपा एमालेको १५ वर्ष महासचिव भएर नेतृत्व गरिसकेका पात्र हुन् । शनिबारबाट ७३ वर्ष पूरा गरेका माधवकुमारलाई जन्मदिनकै दिन संसदीय राजनीतिमा ठेस लाग्न पुगेको छ ।

५ दशक भन्दा बढी लामो राजनीतिक इतिहास भएका नेता नेपालले पछिल्लो आधा दशकमा विभिन्न राजनीतिक उतारचढाव भोगेका छन् । ०७७ सालमा नेकपा एमालेसँग विद्रोह गरी एकीकृत समाजवादी गठन गरेर नयाँ दलको अध्यक्ष बनेका नेपालले माओवादी लगायत वामपन्थी शक्तिसँग एकता गरेर चुनावमा होमिए ।

अहिलेसम्मको आँकडा हेर्दा विभिन्न वामपन्थी शक्तिहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भने राम्रो सिट ल्याउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?