दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता कायम राखेका छन् । हालसम्म ब्यास गाउँपालिका, दुहु गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ भने अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी छ ।
हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार जोशीले सात हजार ४९ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का उम्मेदवारका उम्मेदवार गणेशसिंह ठगुन्नाले छ हजार ६४२ मत प्राप्त गरेको छ । यससँगै कांग्रेसले एमालेमाथि ४०७ मतको अग्रता बनाएको हो । सुरुदेखि नै यी दुई दलबिच कडा प्रतिस्पर्धा देखिएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार ३५६ मत प्राप्त गरेको छ । अन्य दलतर्फ नेकपा (तारा) ले ५६४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ले २२५ मत पाएको छ ।
स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूले पनि केही मत प्राप्त गरेका छन् । प्राप्त विवरणअनुसार गिलास चुनाव चिह्नका उम्मेदवारले १९ मत, हसिया आठ मत, गुलाब ४९ मत, मोबाइल १८ मत, मादल तीन मत र खुकुरी तीन मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी रहेको छ । बाँकी क्षेत्रको मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गरिने बताइएको छ । मतगणना जारी रहेकाले अन्तिम परिणाम कसको पक्षमा जाने भन्ने विषयमा सर्वसाधारण र राजनीतिक दलहरूबिच चासो बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया