काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज ‘ह्याक’ को प्रयास भएपछि मेटा (फेसबुक)ले उक्त पेजलाई लक गरिदिएको छ । बाह्य व्यक्तिहरूले पेज ह्याक गर्ने प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै (फेसबुक)ले सो पेजलाई लक गरिदिएको हो ।
रास्वपा सचिवालयले मंगलबार एक सूचना जारी गर्दै पेज पूर्णरूपमा सुरक्षित नभएसम्म र नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट नहुने जनाएको छ । फेसबुकको सुरक्षा प्रक्रिया पूरा गरेर पेजलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको सचिवालयले स्पष्ट पारेको छ ।
सचिवालयले आम सर्वसाधारण तथा शुभचिन्तकहरूलाई सचेत गराउँदै उक्त पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिंकहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न पनि आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया