काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको सिन्धुली जिल्लाका इन्चार्ज बुद्धिमान माझी र संयोजक पानीराज बम्जनलाई कारबाही गरेको छ ।
पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै नेकपाको प्रदेश कमिटीले उनीहरूलाई कारबाहीस्वरुप जिम्मेवारीबाट हटाएको हो ।
उनीहरूमाथि यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली–२ मा आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध बागी उम्मेदवारलाई सघाएको आरोप छ ।
नेकपा बागमती प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै ‘आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी खडा गरी त्यसका पक्षमा खुलेआम मत माग्ने गतिविधि गरेकाले’ कारबाही गरिएको उल्लेख छ । औपचारिक तथा अनौपचारिक रूपमा पार्टीले दिएको निर्देशनलाई बेवास्ता गर्दै अनुशासन उल्लंघन गरेकाले उनीहरूलाई सबै जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।
नेकपाबाट टिकट नपाएपछि सिन्धुली–२ मा महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला संयोजक बम्जन र इन्चार्ज माझी दाहालको पक्षमा मत माग्दै हिँडिरहेका छन् ।
यसअघि यही प्रकरणमा नेकपाले बागी उम्मेदवार दाहालसहित नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया