काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो, भित्तेपात्रो तथा गोजी पात्रो प्रकाशन गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ।
समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार समितिको गठन आदेश, २०७७ को दफा ७ (ञ), (ठ) र (ढ) तथा आन्तरिक व्यवस्थापन दिग्दर्शन–२०७९ को परिच्छेद १५ बमोजिम पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो (क्यालेण्डर) र गोजी पात्रो प्रकाशन गर्नुअघि समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ।
गठन आदेशअनुसार तयार गरिएको आन्तरिक व्यवस्थापन दिग्दर्शनको परिच्छेद १५ को दफा ५३.१ अनुसार पात्रो तथा क्यालेण्डर प्रकाशन गर्ने व्यक्ति, संघ, संस्था वा समुदायले अनिवार्य रूपमा समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्नुपर्ने प्रावधान छ।
त्यस्तै, दिग्दर्शनको दफा ५६.१ अनुसार प्रकाशित पञ्चाङ्ग तथा भित्तेपात्रोको निरीक्षण गर्न मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयका प्रतिनिधि, गृह मन्त्रालयका प्रतिनिधि, समितिले तोकेको पञ्चाङ्गकारका प्रतिनिधि तथा समितिका प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
अनुगमन समितिको सिफारिसका आधारमा समितिबाट स्वीकृति नलिई भित्तेपात्रो वा पञ्चाङ्ग प्रकाशन गरेमा त्यस्ता सामग्री जफत गर्न, प्रकाशनमा रोक लगाउन तथा स्वीकृति प्राप्त प्रकाशनलाई हानि पुर्याए कसुरअनुसार १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको समितिले जनाएको छ।
विसं २०७९ देखि पञ्चाङ्गका अतिरिक्त भित्तेपात्रो (क्यालेण्डर) मा समेत स्वीकृति अनिवार्य गरिएको समितिले जनाएको छ। स्वीकृति नलिई प्रकाशित क्यालेण्डर तथा पञ्चाङ्गमा चाडपर्व, तिथि, मिति, मुहूर्त तथा सरकारी बिदालगायत विषयमा त्रुटि देखिने र सर्वसाधारणमा भ्रम उत्पन्न हुने गरेको पाइएकाले यस विषयमा विशेष ध्यान दिन आग्रह गरिएको हो।
नेपालभर प्रकाशन तथा वितरण गरिने सबै पञ्चाङ्ग र भित्तेपात्रो समितिबाट स्वीकृति लिएर मात्र प्रकाशन तथा वितरण गर्न सम्बन्धित व्यक्ति, संघ-संस्था र निकायहरूलाई निर्देशन जारी गरिएको छ। स्वीकृति प्राप्त प्रकाशनमा स्वीकृति पत्र तथा नम्बर अनिवार्य रूपमा उल्लेख गरिएको हुने पनि समितिले स्पष्ट पारेको छ।
स्वीकृति नलिई प्रकाशन तथा वितरण गरिएका पञ्चाङ्ग तथा क्यालेण्डर सम्बन्धित प्रशासनिक निकायमार्फत जफत गरी प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया