झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लामा स्थानीय स्वयंसेविका, बाल विकास सहजकर्ता र सामुदायिक अध्ययन केन्द्रका परिचालक गरी १३१ जना खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार जनशक्ति छनोट गर्दा विगतका निर्वाचनमा कार्य अनुभव हासिल गरेका व्यक्तिलाई विशेष प्राथमिकता दिइएको छ ।
यसरी खटाइएका कर्मचारीले प्रत्येक वडामा पुगेर तोकिएको जिम्मेवारी पूरा गर्न सुरु गरिसकेका छन् । उनले फागुन ३ गतेदेखि स्वयंसेवक परिचालन गरेको बताए ।
कार्यक्षेत्रमा खटाइएका स्वयंसेवकले मतदाताको घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने उनले बताए । मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरण गर्ने उनको भनाइ छ ।
पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा मतदाताको सङ्ख्या सात लाख १३ हजार ५३७ रहेको छ । यस पटक ५० हजार नयाँ मतदाता थपिएका छन् । जिल्लाका कूल मतदातामध्ये तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ जना अन्य रहेका छन् ।
जिल्लाका पाँच निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नं ५ मा एक लाख ६३ हजार ३७९ रहेका छन् । निर्वाचन कार्यालयले अहिले मतदाता शिक्षा र मतदान केन्द्रको भौतिक अवस्थाको निरीक्षणलाईसमेत सँगसँगै अगाडि बढाइरहेको जनाएको छ । यही फागुन १७ गतेसम्म मतदाता शिक्षा सञ्चालन गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया