जुम्ला । जिल्ला निर्वाचन कार्यालय जुम्लाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक परिचालनको तयारी गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार जिल्लाका आठ स्थानीय तहका ६० वटै वडामा एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक यही फागुन ३ देखि १७ गतेसम्म कार्यक्षेत्रमा खटिने छन् ।
मतदाता शिक्षा स्वयंसेवकले विशेषगरी निर्वाचन प्रक्रियामा बढीभन्दा बढी मतदाता सहभागी गराउने, मतदान गर्दा ध्यान दिनुपर्ने विधि, प्रक्रियाका बारेमा सिकाउने, बदर हुनसक्ने मत न्यूनीकरण गर्ने, निर्वाचन आचारसंहिताका बारेमा जानकारी गराउने र समग्रमा निर्वाचनलाई उत्सवका रूपमा मनाउने विषयमा मतदातालाई सुसूचित गराउने निर्वाचन आयोगले स्पष्ट गरेको छ ।
यसैसन्दर्भमा मतदाता शिक्षा अनुगमनकर्ताका लागि अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन भइसकेको छ । बालविकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालिका, मातृस्वास्थ्य कार्यकर्ता तथा सामुदायिक अध्ययन केन्द्रका परिचालकहरू मतदाता स्वयंसेवकका रूपमा परिचालित हुने व्यवस्था गरिएको छ ।
जिल्लामा ८५ मतदानस्थल र ११० वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि जिल्लामा कुल मतदाता ७१ हजार ७३९ जना रहेका छन् । महिलातर्फ ३४ हजार २८० जना र पुरुषतर्फ ३७ हजार ४५९ जना मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाले स्पष्ट गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया