काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले मतदातालाई लोकप्रियतावादको भ्रमबाट सचेत रहन आग्रह गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा शाहीले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने भएकाले यस विषयमा ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुन्छ र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहन्छ ।’ उनले सबै मतदातालाई विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै विवेकपूर्ण ढंगले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरे ।
शाहीले लोकप्रियतावादको प्रभाव विश्वका धेरै देश र दक्षिण एशियाका केही राष्ट्रहरूमा देखिएको उदाहरण समेत उल्लेख गर्दै नेपालमा दीर्घकालीन स्थायित्व र विकासको मार्ग रोज्नुपर्नेमा जोड दिए ।
एमालेले ‘समृद्धिको बाटो, सूर्यमा मत’ नारासहित समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्य अघि सारेको छ । पार्टीले गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगारी, सुरक्षित आवास र सम्मानित जीवनस्तर सुनिश्चित गर्दै उच्च आयस्तरको विकसित राष्ट्र निर्माण गर्ने उद्देश्य राखेको जनाएको छ ।
पार्टीका अनुसार तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमान सुदृढीकरणमार्फत दीर्घकालीन समृद्धि हासिल गर्ने नेतृत्व एमालेसँग सक्षम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया