विश्वप्रकाशले अघि सारेको ‘विनर्स टेक अल’ प्रस्ताव के हो ?

लोकपथ
63
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्न आग्रह गरेका छन् ।

बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आलोपालो प्रधानमन्त्री बन्ने र बनाउने प्रथ अन्त्य गर्न जोड दिएका हुन् ।

आगामी सरकारको नेतृत्वका लागि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको बताए । मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेसले यस्तो निर्णय लिएको उनको भनाइ छ । सम्बोधनका क्रममा शर्माले अबको निर्वाचन पछि आलोपालो प्रधानमन्त्री बन्ने विकृत प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

शर्माले राजनीतिक स्थिरताका लागि ‘विनर्स टेक अल’ (विजेताले सबै पाउने) को नयाँ सिद्धान्त प्रस्ताव गरेका छन् ।

उनकाअनुसार चुनावमा सबैभन्दा ठूलो दल हुने पार्टीले नै पूर्ण पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ । यदि संसदमा १ सय ३८ को बहुमत नपुगेमा समानुपातिक हिस्साबाट आवश्यक सिट संख्या थप गरेर भएपनि ठूलो दललाई नै बहुमत पुर्‍याइदिने कानूनी र संवैधानिक व्यवस्था गर्नुपर्ने उनको तर्क छ ।

उनले भने- ‘प्रश्न हिरा केसीलाई जिताउने कि नजिताउने भन्ने होइन । प्रश्न सुनिल पौडेललाई जिताउने कि नजिताउने, सुशील गुरुङ, आशुतोष मिश्र वा भरत साहलाई प्रतिनिधिसभामा पठाउने कि नपठाउने भन्ने होइन । प्रश्न देशभरिबाट कांग्रेस ठूलो दलको रूपमा बहुमत प्राप्त दलको रूपमा लिएर आएर हाम्रा सांसद बनाउने मात्रै होइन, सरकार बनाउने भन्ने मात्रै होइन, अप्ठ्यारोमा परेको देशलाई, विषम परिस्थितिमा परेको देशलाई गाँस्ने कि नगाँस्ने भन्ने कुरा हो । त्यसैले आजको छलफल पछाडि हामी नयाँ ढंगले, नयाँ ऊर्जाका साथ काम गर्नेछौँ, नयाँ ऊर्जाका साथ लाग्नेछौँ, सानातिना कुरा बिर्सेर लाग्नेछौँ, रुख चिह्नभन्दा अर्को कुरा तर्फ हामी नअल्मलिइकन लाग्नेछौँ । हामी यसरी जुटेर लाग्नेछौँ कि रुपन्देहीको चप्पा चप्पामा मान्छेको घरमा जुन चिह्न छ छँदैछ, तर मङ्सिर त्यो दिन २१ गतेभन्दा अगाडि २० गते राति सुत्दै गर्दा जुनसुकै चिह्न बोकेर सुते पनि २१ गते बिहान ब्युँझिने गर्दा पूरै रुपन्देही रुख रुख रुख रुख भनिराखेको पाँचै क्षेत्रमा उभिएको छ, त्यो आग्रह गर्न चाहन्छु । एकपटक सबैलाई एकैठाउँमा उभिन अनुरोध गर्दछु, सबै उभिनुस्, उभिएर एकपटक एउटा राष्ट्रिय संवाद गरौँ, एउटा गोलमेच भन्नुहुन्छ नि गोलमेच गरौँ, भन्नुहुन्छ तपाईं भने बृहत् सम्मेलन बृहत् सम्मेलन गरौँ ।

चुनावमा गएपछि जुन दलले सबैभन्दा बढी सिट ल्याउँछ, समानुपातिकमा सबैभन्दा लोकप्रिय मत जुन दलले ल्याउँछ, त्यही दलले पाँच वर्षसम्म प्रधानमन्त्री पनि उसैको, मन्त्री पनि उसैको बनाउने खालको सहमति हामी गरेर जाऔँँ । यसो भन्दै गर्दाखेरि प्रश्न उठ्छ, सबैभन्दा ठूलो दल त भयो तर १३८ पुगेन, बहुमत पुगेन, संसदबाट विधेयक कसरी पास हुन्छ, त्यो अवस्थामा विनर्स टेक अल भन्ने थ्योरी हुन्छ । जित्नेले सबै लैजाने भन्ने हुन्छ, २० वटा २५ वटा ३० वटा जुन सिट पुग्दैन, सहमति गरौँ, संविधानमा अङ्कन गरौँ, लेखौँ । अब हङ पार्लियामेन्ट नबनाऔँ, आलोपालो प्रधानमन्त्री गर्ने काम नगरौँ, एउटा प्रधानमन्त्रीले पूरा पाँच वर्ष काम गर्न सकोस् । उसलाई चाहिने बहुमत उसको दलले प्रत्यक्ष या समानुपातिकबाट पूरै बहुमत पुगेन भने नपुगेको सिट संख्या समानुपातिकको हिस्साबाट उसले अलग्गै प्राप्त गर्ने पद्धति संसदको अब बस्ने बैठकको पहिलो बैठकमा पेश गरेर पास गर्ने अनि मात्रै नयाँ सरकार बनाउने भन्ने संकल्प गरौँ ।

जित्ने जो होला, अहिले मैले भन्दै गरेको प्रस्तावमा सबै सहमत बनौँ, हामी जितौँला नभए अर्कोले जित्ला, हामी जान्दछौँ हामी जित्दैछौँ । तर कसैले होइन हामी जित्दैछौँ भन्नुहुन्छ भने आउनुस्, छलफल गरौँ, बहस गरौँ, प्रधानमन्त्री बिचबिचमा आलोपालो, पार्टीभित्रै आलोपालो, अर्कोसँग अर्को दलसँग आलोपालो, भत्काइदिउँ, एउटा बलियो प्रधानमन्त्रीलाई पाँच वर्ष दिउँ र उसलाई नपुगेको संख्या संसदबाट ठूलो दललाई दिउँ र त्यो गरेर देश हाँकेर डाइनामिक ढंगले लिएर जानका लागि नेपाली काग्रेस पार्टीले हाम्रो सभापति गगनकुमार थापालाई अबको प्रधानमन्त्रीको रूपमा हामीले अगाडि सारेर गएका छौँ । र त्यो कुरालाई नागरिक पंक्तिमा राखेर तपाईं हामीले लिएर जानुस्, त्यसैले जाँदै गर्दाखेरि हामीले नेपाली काँग्रेस पार्टीलाई बलियो ढंगले लिएर आउँदै गर्दा हामी तपाईं यी सबै कर्म गरेर जाँदा अनि यो देशलाई एउटा बाटोमा लिएर जान्छौँ ।’

रुपन्देहीका पाँचै क्षेत्रमा काँग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्दै शर्माले कार्यकर्ताहरूलाई सानातिना कुरा बिर्सेर रुख चिह्नमा गोलवद्ध हुन आग्रह गरे । निर्वाचनको दिन पूरै रुपन्देही रुखमय हुनुपर्ने भन्दै उहाँले राष्ट्रिय संवाद र गोलमेच सम्मेलनमार्फत चुनावी सुधारका प्रस्तावहरू पास गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?