बालेनले नेतृत्व गरेको काठमाडौं महानगर कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर, विराटनगर पहिलो

लोकपथ
56
Shares

काठमाडौं । देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर रहेको पाइएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर महानगरपालिकाहरूको मूल्यांकन गरेको थियो । 

जसमा विराटनगर महानगरपालिकाले सबैभन्दा बढी ७८ दशमलव ११ अंक पाउँदा काठमाडौं महानगरपालिकाले भने ४४ दशमलव ९७ अंकमात्र प्राप्त गर्न सकेको छ । यो देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर हो ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा माघ पहिलो सातासम्म बालेन्द्र शाह (बालेन) थिए । उनी महानगर प्रमुखबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । 

दोस्रो स्थानमा ललितपुर महानगरपालिकाले ७६ दशमलव ३३ प्रतिशत अंक पाउँदा चितवनको भरतपुर महानगरपालिका तेस्रो बन्न पुगेको छ । भरतपुरले ६८ दशमलव ०४ अंक पाएको छ ।

यस्तै, चौथो स्थानमा रहेको पोखराले ५८ दशमलव ०४ अंक पाउँदा पाँचौँ स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अंक पाएको छ । 

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक रहेको छ ।

यस्तै, आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए÷नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, राजस्व परिचालन, बजेट खर्च अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिकाको अनुपातलाई समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?