रामेछाप बस दुर्घटनाका पीडितहरूको आन्दोलन स्थगित, यी हुन् यातायात व्यवसायीहरूसँग भएका सहमतिका बुँदा

लोकपथ
224
Shares

काठमाडौं । गत मंगलबार रामेछापमा भएको बस दुर्घटनापछि आन्दोलनमा उत्रेका मृतकका आफन्त तथा घाइतेका परिवारले आन्दोलन स्थगित गरेका छन् ।

जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्ष र अरनिको यातायातबीच भएको सहमतिपछि उनीहरूले आन्दोलन स्थगित गरेका हुन् । दुवै पक्षबीच दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति दिइने सहमति भएको छ । सहमतिपछि आफन्तले शव परीक्षण गरी दाहसंस्कारका लागि लगेका छन् ।

गत मंगलबार रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा भएको अरनिको यातायातको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो । सो बस ओखलढुंगा जाँदै थियो । 

सहमतिमा सवारी चालकलाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ । दुर्घटनामा हराइरहेका आशंका गरिएकाको खोजी जारी राख्ने र हराइरहेका यात्रुको सम्बन्धमा पनि क्षतिपूर्ति सम्बन्धित निकायले उपलब्ध गराइने भएको छ ।

यस्तै, पीडित पक्षबाट प्राप्त मागपत्र र निवेदन कार्यान्वयन र सहजीकरणका लागि अरनिको यातायात, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने साथै पीडित पक्षबाट गरिएका विरोधका सबै कार्यक्रमहरू स्थगित गर्ने सहमति बनेको छ ।

रामेछाप भित्रिने तथा जिल्लाभित्रका सडकमा सञ्चालन हुने सवारी साधनको सीमा नाका तथा अन्य चेक प्वाइन्टमा प्रहरीले अनिवार्य चेकजाँच गरिने भएको छ । यात्रुको संख्या, सवारी प्रवेशको समयलगायतका अनिवार्य रूपमा अभिलेख राख्ने व्यवस्था मिलाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?