काठमाडौं । बदलिँदो विश्व परिवेशमा नेपालले क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको स्पष्ट पारेको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले आजको विश्वव्यापी चुनौती र अनिश्चितताका बिच क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
बैठकलाई सम्बोधन गर्दै सचिव राईले राष्ट्रिय प्रयास र विश्वव्यापी प्रक्रियाबिच सेतुका रूपमा क्षेत्रीय सहकार्यको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले साझा चुनौतीहरू समाधानका लागि सार्कजस्ता क्षेत्रीय संयन्त्रलाई प्रभावकारी बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
यसैगरी, सार्कका महासचिव गोलाम सरवारले संगठनले चार दशकको यात्रामा हासिल गरेका उपलब्धिहरूको स्मरण गर्दै क्षेत्रीय सहकार्यप्रतिको आकाङ्क्षालाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक रहेको बताए ।
आज समापन हुने उक्त बैठकले सार्क सचिवालयको बजेट तथा कार्यक्रमहरू अनुमोदन गर्ने जनाएको छ । बैठकमा बङ्गलादेश, भूटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलङ्काका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया