काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि भारतको मुम्बईस्थित वाङ्खेडे स्टेडियममा हुनेछ । पहिलो खेलमा पराजय भोगेका दुवै टोली आज पहिलो जितको खोजीमा मैदान उत्रनेछन् ।
नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली स्कटल्यान्डसँग हार बेहोरेको थियो । त्यसैले समूहमा प्रतिस्पर्धामा टिकिरहन आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।
नेपाल र इटली १३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने हुन लागेका हुन् । सन् २०१३ मा आईसीसी डिभिजन–३ अन्तर्गत यी दुई टोलीबिच भेट भएको थियो, जुन ५० ओभर फर्म्याटमा खेलिएको थियो । आजको खेल भने नेपाल र इटलीबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय भिडन्त हुनेछ ।
इतिहास हेर्दा, नेपाल १२ वर्षपछि इटलीविरुद्ध जितको खोजीमा पनि हुनेछ । यस्तै, नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्ध जित हात पारेपछि विश्वकपमा हालसम्म कुनै खेल जित्न सकेको छैन ।
समूह ‘सी’ मा वेस्ट इन्डिजले हालसम्म खेलेका दुवै खेल जित्दै ४ अंक जोडिसकेको छ । इंग्ल्यान्ड र स्कटल्यान्डले दुई–दुई खेलबाट समान २ अंक जोड्दा नेपाल र इटली अंकविहीन अवस्थामा छन् ।
आजको खेलले समूहको समीकरणमा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया