सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि आज पेसी, के हो घटना ? 

लोकपथ
245
Shares

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाले थुनामुक्तको माग गर्दै दिएको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइका लागि आज बुधबार पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

आफूले ६० प्रतिशत कैद भुक्तान गरिसकेको भन्दै पूर्वडीआईजी कोइराला थुनामुक्तको माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।श्रीमती गीता ढकालको हत्या गरेपछि उनलाई जन्मकैदको फैसला सुनाइएको थियो । 

हाल कारागारमा जेल जीवन बिताइरहेका कोइरालाले बन्दी प्रत्यक्षीकरण निवेदनमा यसअघि २ हजार ४ सय कैदी बन्दीले छुट पाउँदा आफूले नपाएको र २०८१ साउन ३० मै ५९ प्रतिशत कैद भुक्तान गरेको दाबी गरेका छन् । उनले कानुनको पालना गरेको र आफ्नो असल आचरण भएको कारण देखाएर कैद छुट हुनुपर्ने माग गरेका छन् ।

२०६८ साल माघ ८ गते नारायणगढबाट काठमाडौं फर्कँदै गर्दा उनलाई थानकोटबाट प्रहरीले पक्रेर मुद्दा चलाएको थियो । हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला २०७७ असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ वर्ष ६ महिनामा झारेको थियो । ‘नाबालक छोराहरूको हेरचाह, संरक्षण र शिक्षादीक्षामा प्रभाव पर्ने देखिएको’ भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले रञ्जनको सजाय घटाउने फैसला गरेको थियो । प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्न सक्ने’ भन्दै उनको सजाय घटाएपछि उनी थुनामुक्त भएका थिए । तर सर्वोच्च अदालतको सो फैसला पुनरावलोकन भएसँगै उनी पुनः कारागार चलान भएका थिए ।

फैसलामा भनिएको थियो, ‘रञ्जनप्रसाद कोइरालालाई सर्वस्वसहित जन्मकैद हुने ठह¥याएको जिल्ला र उच्च अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहरे पनि मुलुकी अपराध संहितामा सर्वस्वसहित जन्मकैदको कानुनी व्यवस्था नभएर जन्मकैदको सजाय मात्र हुने व्यवस्था भएकोले रञ्जनप्रसाद कोइरालालाई जन्मकैदको मात्र सजाय हुने ठहर्छ । उपरोक्त कारणले जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ ।’

साथै सर्वोच्चले आफ्नो आदेशमा जिल्ला अदालत र पुनरावेदन अदालतको फैसलामा कोइरालाको रोक्का भएको सम्पत्ति पनि फुकुवा गर्न निर्देशन दिएको थियो ।

काठमाडौं जिल्ला अदालतले २०७१ बैशाख ७ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेकोमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०७२ साल मंसिर २३ गते यसलाई सदर गरेको थियो ।

कोइरालाले पत्नी गीता ढकालको हत्या गरी शव मकवानपुरमा लगेर जलाएर जंगलमा फालेका थिए । २०६८ माघ महिनामा सशस्त्रको डीआईजी रहेका कोइरालाले श्रीमतीको हत्या गरी शव मकवानपुर लगेर जलाएका थिए । 

उनले आफ्नै गाडीमा पत्नी गीताको शव राखेर मकवानपुर जिल्लाको साबिक टिस्टुङ गाविस वडा नं ८ मेत्राङ भन्ने स्थानमा लगेर जलाएका थिए । कोइरालालाई मेलुङकै स्थानीयले शव जलाइएकै स्थलबाट पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । सो जलेको शव उनकी पत्नी गीताकै भएको प्रमाणित भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?