सरकारी सेवा प्रवाह ढिलाइप्रति गगन थापाको चिन्ता, सुधार योजना सार्वजनिक

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा देखिएको ढिलाइ अन्त्य गर्न सुधार योजना सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले  सुधार योजना सार्वजनिक गरेका हुन् ।

उनले अहिले सामान्य सरकारी काम गर्नसमेत नागरिकले लामो लाइन बस्नुपर्ने र फाइल एक कार्यालयबाट अर्कोमा घुमिरहँदा काम ढिलो हुने अवस्था रहेको बताएका छन् । यसकारण आम नागरिकले अनावश्यक हैरानी व्यहोर्नु परेको उनको भनाइ छ।

सरकारी सेवा लिन नागरिकले भोग्नुपरेको झन्झटप्रति चिन्ता व्यक्त गर्दै थापाले डिजिटल गभर्नेन्सको आवश्यकता  रहेको बताए । 

परम्परागत कागज र फाइलमा आधारित प्रणालीले सेवा प्रवाह जटिल र ढिलो बनाएको उल्लेख गर्दै उनले प्रविधिको प्रभावकारी प्रयोगमार्फत यसलाई रूपान्तरण गर्नुपर्ने बताए ।

हालको प्रशासनिक प्रणालीको आलोचना गर्दै उनले भने, ‘कहिले लाइनको लाइन लाग्छ, कहिले फाइल एक कार्यालयबाट अर्कोमा घुमिरहन्छ, जसका कारण काम समयमा हुँदैन ।’

थापाले अबको प्रशासन छरितो, पारदर्शी र नतिजामुखी हुनुपर्नेमा जोड दिए । ‘न्यूनतम सरकार, अधिकतम सुशासन’को सिद्धान्तअनुसार राज्य सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उनले डिजिटल गभर्नेन्स लागू गरेर सेवा प्रवाहको तरिका परिवर्तन गर्ने र नागरिकको हैरानी हटाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार सुधार योजनाको मुख्य लक्ष्य नागरिकमैत्री सेवा प्रणाली विकास गर्नु र सरकारी कामकाजलाई समयमै सम्पन्न हुने बनाउनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?