सरकार स्वास्थ्य क्षेत्रबाट भाग्न मिल्दैन : प्रदीप पौडेल

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ का मतदाताहरूसँगको भेटपछि महामन्त्री पौडेलले आफ्नो कार्यकालमा स्वास्थ्य बीमालाई उच्च प्राथमिकता दिएको स्मरण गर्दै हाल केही स्थानमा बीमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले सेवा प्रदायक अस्पतालहरूले बक्यौता भुक्तानी नपाएको भन्दै सेवा बन्द गर्ने घोषणा गरिरहेको अवस्थालाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरे ।

महामन्त्री पौडेलले सरकारले स्वास्थ्य सेवा दिन नसक्ने अवस्था आएमा वैकल्पिक स्रोतबाट रकम जुटाउने स्पष्ट खाका आफूहरूले पहिल्यै प्रस्तुत गरिसकेको बताए । पूर्वप्रधानमन्त्रीलाई पटक–पटक आग्रह गर्दा पनि उक्त योजना कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै पछिल्ला सरकारहरूले समेत स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकताका साथ लागू गर्नुपर्नेमा जोड दिए ।

हाल स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेको छ । शिक्षण अस्पतालसहित ठूला अस्पतालहरूमा समेत बीमा सेवा प्रभावित भएको समाचारहरू आइरहेका छन् । महामन्त्री पौडेलले आफ्नो कार्यकालमा बीमाको सीमा १ लाखबाट ५ लाख रुपैयाँसम्म पुर्‍याउने प्रस्ताव र योगदानमा आधारित प्रणाली लागू गर्ने प्रयास गरेको स्मरण गर्दै अहिले कार्यक्रम नै जोखिममा पर्नु चिन्ताजनक भएको बताए ।

उनले भने, ‘मैले सबैभन्दा बढी प्राथमिकता स्वास्थ्य बीमालाई दिएको हुँ। म हुँदा जसरी पनि बीमा सञ्चालनमा थियो। अहिले कतिपय स्थानमा बीमा सेवा बन्द भएको सुन्दैछु । सरकार स्वास्थ्य क्षेत्रबाट भाग्न मिल्दैन । सरकारले दिन सक्दैन भने कहाँबाट स्रोत जुटाउन सकिन्छ भन्ने स्पष्ट खाका हामीले प्रस्तुत गरिसकेका छौँ । त्यसबेला धेरै पटक आग्रह गर्दा पनि योजना पूरा हुन सकेन। पछिल्ला सरकारले पनि यो विषय कार्यान्वयन गर्नुपर्छ। नत्र सरकारले नागरिकलाई स्वास्थ्य सेवा दिन सक्दैन भन्ने सन्देश जान्छ ।’

महामन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको दायित्व राज्यले वहन गरिरहेको अनुभूति नागरिकलाई दिलाउन सरकार जिम्मेवार हुनुपर्ने बताए । साथै, उनले ढल व्यवस्थापन तथा यसको क्षमता अभिवृद्धिका लागि पनि आफू सक्रिय भएर लागिपर्ने स्पष्ट पा रे। आफूले काम नगरेको भनेर भन्न मिल्ने अवस्था नरहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?