काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाल जापानबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान प्रस्थान गर्न लागेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।
भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल यही माघ २१ गते नेपाल फर्किने छन् । भ्रमणका क्रममा माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट हुनेछ । त्यस्तै, सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि भेटवार्ता हुने परराष्ट्र सचिव राईले जानकारी दिए ।
माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुने कार्यक्रम छ । भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि राष्ट्रपति पौडेलको शिष्टाचार भेट तय छ ।
राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको बैठकमा पनि सहभागी हुनेछन् । त्यस्तै, जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।
भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया