शहिदको आकाङ्क्षा साकार पार्न सबै समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय तथा सरोकारवाला सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका शहिदहरूको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् ।

शहिद दिवसका अवसरमा आज सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवन राष्ट्र र जनताको हितका लागि समर्पण गर्नु नै सच्चा सहादत भएको उल्लेख गरेका छन् । उनले शहिद दिवसले शहिदहरूको सपना पूरा गर्न सबैलाई प्रेरणा र हौसला प्रदान गरोस् भन्ने कामना व्यक्त गरे ।

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गर्ने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति पौडेलले शहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरेका छन् ।

सन्देशमा राष्ट्रपति पौडेलले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका आन्दोलनहरूमा जीवन बलिदान गर्ने वीर शहिदहरूको स्मरण गर्दै हरेक वर्ष माघ १६ गते शहिद दिवस मनाइँदै आएको उल्लेख गरेका छन् ।

उनले महान् शहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?