काठमाडौं । प्रहरीले काठमाडौंमा रातीको समयमा लुटपाट र आतङ्क मच्चाउने १० जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
प्रहरीले बुधबारदेखि सर्च अपरेसन चलाएर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए ।
उनीहरूले जेनजी आन्दोलनपछि राति १२ बजेपछि बिहान ४ बजेसम्मको समयमा हिँड्ने व्यक्तिहरुलाई लक्षित गरेर लुटपाट गर्ने गरेको थापाले बताए ।
लुटपाट गर्ने गिरोहको नाइके विनय तामाङ रहेको उनले बताए ।
उनकाअनुसार तामाङ जेनजी आन्दोलन अगाडी पनि बुढानीलकण्ठ क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परी महाराजगञ्ज प्रहरीको हिरासतमा थिए ।

भदौ २४ मा उनी हिरासतबाट भागेका थिए । हिरासतबाट भागेपछि समूह बनाएर विभिन्न ठाउँमा लुटपाट गर्ने गिरोह गठन गरेर सक्रिय भएको उनले बताए ।
बुधबार साँझदेखि बिहीबार बिहानसम्म सञ्चालन गरेको सर्च अपरेसनमार्फत उनीहरुलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडी बढाएको उनले जानकारी दिए ।
पक्राउको क्रममा दोहोरो झडप हुँदा प्रहरी र विनय तामाङ घाइते भएका छन् । हालसम्म उक्त गिरोहले स्वयम्भूमा ७ वटा, महाराजगञ्ज तथा बुढानिलकण्ठ क्षेत्र, बौद्ध क्षेत्र र गौशला क्षेत्रमा ३–३ वटा र ठिमीको क्षेत्रमा १३ वटा लुटपाट गरेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।
‘पछिल्लो ३ महिनाको समयमा प्रहरीलाई चुनौतीको रुपमा एउटा घटना आएको थियो । विशेषतः रातिको समयमा मोटरसाकलमा आएर लुटपाट गर्ने घटना बढिरहेको थियो । यसलाई हामीले अत्यन्त संवेदनशील भएर यो समूहमाथी हामीले निगरानी, प्रहरी परिचालन गरेका थियौँ । रातीको समयमा दुई वटा मोटरसाइकलमा आएर प्रत्येक मोटरसाईकलमा ३–३ जना बसेर राती १२ बजेपछि बिहान ४ बजेसम्म जो मानिस सडकमा आउनुहुन्छ, उनीहरुलाई लुटपाट गर्ने उद्देश्यले संगठित गिरोह सक्रिय भएको अवस्था थियो । त्यो गिरोहलाई हिजो साँझ ६ बजेदेखी नै हामीले अपरेशन चलाएर आज बिहान करिब ३ बजे यो अपरेशन टुंग्यिएको छ । यो क्रममा हामीले यो कार्यमा संलग्न रहेका १० जनालाई नियन्त्रणमा लिएका छौँ । नियन्त्रणमा लिने क्रममा प्रहरीसँग झडप हुने क्रममा एक जना प्रहरीको गोली लागेर घाइते अवस्थामा रहेका छन् । उनी उपचारको क्रममा अस्पतालमा छन् । यो समूह जेनजी आन्दोलन पछि संगठित भएको देखिन्छ । यो समूह दिनभरी ट्याक्सी चलाउने, ट्याक्सी पनि हामीले नियन्त्रणमा लिएका छौँ । अन्य सवारी साधन चलाउने र रातीको समयमा ९ बजेतिर जम्मा हुने र खाना खाएर रातको १२ बजेपछि बिहान ४ बजेसम्म मोटरसाईकलमा बसेर लुटपाट गर्ने र लुटपाट गरेपछि फेरि सबै जम्मा भएर ट्याक्सी वा प्राईभेट कारमा गएर लुटेराहरु बस्ने गरेको देखिन्छ । मोटरसाईलमा प्रहरीले चेकिङ गर्न थालेपछि उनीहरु प्रहरीलाई पनि चक्मा दिनेगरि अन्य सवारीसाधानमा चढेर भाग्ने ट्रेड यो समुहको देखिन्छ । यो समुहको टिम लिडरको विनय तामाङ रहेका छन् । निजले विगतमा पनि विभिन्न किसिमको चोरी डाका गरेको देखिन्छ । उनले नै अन्य १० जनलाइ परिचालन गरेको देखिन्छ । विनय तामाङ गत भदौ २४ गते भन्दा अगाडी बुढानिलकण्ठ क्षेत्रमा चोरी डाका मुद्दामा प्रहरी नियन्त्रणमा रही महाराजगञ्ज हिरासतमा रहेका थिए । भदौ २४ गते उनी हिरासतबाट फरार भएका थिए । सोही पश्चात उनले यो समूह गठन गरेर विभिन्न ठाउँमा लुटपाट गरेको देखिन्छ । अहिलेसम्म स्वयम्भूमा ७ वटा, महाराजगञ्ज र बुढानिलकण्ठ क्षेत्रमा ३ वटा, बौद्ध क्षेत्रमा ३ वटा, गौशला क्षेत्रमा ३ वटा र ठिमीको क्षेत्रमा १३ वटा घटनाहरुमा उनीहरुको संलग्नता रहेको देखिन्छ । अहिलेसम्म २७ वटा जाहेरी आएका छन्,’ उनले भने ।

प्रहरीकाअनुसार पक्राउ परेका सबै जना विगतमा पनि चोरी र डाका मुद्दामा पक्राउ परेका व्यक्तिहरु रहेका छन् । महिलाहरूको कानको गहना लुस्ने र एकान्तमा मानिसहरूलाई लुटेर उनीहरू मोटरसाइकलमा भाग्ने गरेका थिए ।
लुटपाटमा संलग्नहरु काभ्रे, रामेछाप र सिन्धुली क्षेत्रका रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया