निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको निर्देशन

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय सूचना आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार भूमिका निर्वाह गर्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोगले निर्वाचनका क्रममा फैलिने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सूचना प्रवाहलाई सत्य, तथ्य र यथार्थमा आधारित बनाउन सबै पक्षलाई आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता एवं सूचना आयुक्त गगन विष्टले निर्वाचनसम्बन्धी सूचना समयमै, स्पष्ट र सबैले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिए । साथै, गलत तथा भ्रामक सूचनामाथि निगरानी र नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय बनाइराख्न सरकारलाई सचेत गराए ।

उनले निर्वाचन आयोगलाई मतदाता शिक्षा थप प्रभावकारी बनाउन, बहुभाषिक माध्यममार्फत सूचना प्रवाह गर्न तथा निर्वाचनसम्बन्धी ऐन, कानुन, निर्देशिका र आचारसंहिता समयमै सार्वजनिक गर्न निर्देशन दिए ।

आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न, गालीगलौज, दुष्प्रचार, मिथ्या तथा भ्रामक सूचनाको प्रयोग नगर्न निर्देशन दिएको छ । साथै, दलहरूले निर्वाचनसम्बन्धी सूचना प्रवाहका लागि सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था समेत लागू गर्न आग्रह गरिएको छ ।

त्यसैगरी, आयोगले सञ्चारमाध्यमलाई निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्न निर्देशन दिएको छ । कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारका रूपमा प्रकाशन वा प्रसारण नगर्न र सशुल्क प्रचार–प्रसार नगर्न पनि सचेत गराइएको छ ।

आयोगले सर्वसाधारण नागरिकलाई समेत सामाजिक सञ्जाल वा अन्य माध्यममा सूचना साझा गर्नु अघि त्यसको स्रोत आधिकारिक र विश्वसनीय भएको यकिन गर्न आग्रह गर्दै भ्रामक सूचना देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?