भ्रम छर्ने र नक्कली कुरा गर्नेबाट सचेत भएर मतदान गरौँ : चित्रबहादुर केसी

लोकपथ
189
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनको मुखमा भ्रम फैलाउने व्यक्तिहरूबाट सचेत रहन आम मतदातालाई आह्वान गरेका छन् ।

बुधबार बुटवलमा पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले नयाँको नाममा नक्कली र कृत्रिम कुरा गरेर जनतालाई भ्रममा पार्ने तत्त्वहरू सक्रिय भएको भन्दै त्यसप्रति सजग रहन आग्रह गरे । उनले विगतमा पनि भ्रम छर्ने र उक्साउने व्यक्तिहरूलाई सांसद बनाउने गल्ती भएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यस्तो गल्ती दोहोरिन नहुने बताए ।

‘विगतमा गल्ती गर्ने, कमजोरी भएका व्यक्तिहरूलाई पनि हामीले सांसद बनायौँ। त्यसमा नेता मात्र होइन, मतदाता पनि जिम्मेवार छन्,’ उनले भने, ‘अब लहलहैमा लागेर उक्साउने, चोटिला र नक्कली कुरा गर्नेहरूलाई भोट हाल्ने काम गर्नु हुँदैन ।’

अध्यक्ष केसीले मुलुकको अस्तित्व जोगाउने विषयमा सबै देशभक्त र जनतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले पत्रकारहरूले पनि जनतालाई यथार्थ जानकारी गराएर राष्ट्र कुन मोडमा उभिएको छ भन्नेबारे सचेत गराउनुपर्ने बताए ।

कार्यक्रममा उनले वर्तमान सरकार गैरसरकारी संस्थाहरुले बनाएको दाबी गर्दै त्यस्ता शक्तिहरूबाट देशको हितमा काम हुने अपेक्षा गर्न नसकिने टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?