काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताएकी छन् ।
बुधबार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
नागरिकको सिपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने उनको भनाइ छ ।
उनले सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यवसायिक मेला महोत्सवहरु आयोजना गरिरहनु जरुरी रहेको पनि बताइन् ।
उनले सबै प्रकारका तालिम उत्पादन, रोजगारी र व्यक्तिको आयसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘जबसम्म हामी आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्दैनौँ तबसम्म हामीले लगाउने सशक्तिकरणका नाराहरु पूरा हुन सक्दैनन् । त्यसको लागि सबैलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनको लागि र आफूसँग भएको सिपलाई आयसँगको जोड्नका लागि यो मेला अत्यन्तै महत्वपूर्ण छ । हामीले यस कार्यक्रमका लागि उद्योग वाणिज्य संघ काठमाडौंसँग सहकार्य गरेका छौँ । विभिन्न समयमा विभिन्न ठाउँहरुमा हामी तालिम त दिन्छौँ । तर ती तालिमहरु तालिममा मात्र सिमित हुनु हुदैन । सबै प्रकारका तालिमहरु उत्पादनसँग जोडिनुपर्छ । व्यक्तिको आयसँग पनि जोडिनुपर्छ जसले देशको अर्थतन्त्र सुधार गर्न सहयोग पुर्याओस् । हाम्रो उद्देश्य पनि यही रहेको छ ।’
सिपमा आधारित उत्पादनमार्फत नागरिकको आय वृद्धि र मुलुकको समग्र अर्थतन्त्र सुदृढीकरण गर्नु महानगरको उद्देश्य रहेको बताए ।
करिब २०० अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलहरूको सहभागिता रहने यस महोत्सवमा स्थानीय उत्पादन र सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विभिन्न रूपहरूको प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिने बताइएको छ । महोत्सवको १ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, काठमाडौं उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया