सांसद बेलवासेको माग : ‘चुनावी प्रचारमा राष्ट्रिय झण्डाको प्रयोग रोक्नुपर्छ’

लोकपथ
112
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्‍यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोगमा पूर्ण रोक लगाउन सरकारसँग माग गरेकी छन् ।

मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद बेलवासेले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताइन् । उनका अनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन ।

उनले चुनावी प्रचारका क्रममा घाँटीमा माला झैँ लगाइएका राष्ट्रिय झण्डा पछि कहाँ पुगे, कसरी राखिए र कसले स्याहारसम्भार गर्‍यो भन्नेबारे कुनै जानकारी नहुने अवस्था रहेको उल्लेख गरिन् ।

सांसद बेलवासेले नेपाली राष्ट्रिय झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्दै यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारलाई आग्रह गरिन् । उनले भनिन्, ‘नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन । यसलाई टोटल ढंगले रोक्नुपर्छ । घाँटीमा माला लगाइएका झण्डा अहिले कहाँ छन्, कसरी राखिएका छन्, कसले स्याहारसम्भार गरेको छ भन्नेबारे खोजविन गर्न सकिने अवस्था छैन । त्यसैले झण्डाको दुरुपयोग रोक्न सरकारले पूर्ण प्रतिबन्ध लगाउनुपर्छ ।

उनले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्था तथा कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा पनि जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?