दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

लोकपथ
301
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणको क्रममा स्थानीय सरोकार, धार्मिक विश्वास र सांस्कृतिक सम्पदामा असर पुर्‍याउन नहुने बताएकी छन् । 

प्रधानमन्त्री कार्कीले आज ललितपुरको खोकनामा आयोजना गरिएको सडक निरीक्षण कार्यक्रममा  यस्तो बताएकी हुन् । 

उनले भनिन्, ‘स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ। आवश्यक परेमा रेखाङ्कन र जिरो विन्दु परिवर्तन गर्न समेत तयार हुनुपर्छ ।’

उनले खुला र पर्याप्त खाली ठाउँको व्यवस्थापन गर्न सुझाव दिँदै भनिन्‘प्राकृतिक विपद्को बेला खुला ठाउँ आवश्यक पर्छ, मानिसको ओहोरदोहोर, मेला, पर्व र भेला लागि पनि खुला ठाउँ चाहिन्छ । योजना बनाउँदा नै पर्याप्त खुला ठाउँ छाडेर संरचना निर्माण गर्नुपर्छ ।’

प्रधानमन्त्रीलाई आयोजनाको हालसम्मको प्रगति, चुनौती र अन्य विवरण प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मचन्द्र झाले जानकारी गराएका थिए। निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्र मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरू पनि सहभागी थिए ।

कुल ७०.९७ किमी लम्बाइको यस द्रुतमार्गमा हाल करिब ४५ प्रतिशत भौतिक प्रगति भएको छ । मार्ग अन्तर्गत ८७ भन्दा बढी पुल निर्माण गर्नुपर्ने छ, जसमा केही ८२ मिटरसम्म अग्ला विशिष्ट पुल पनि छन् । आयोजना निर्धारित मिति विसं २०८३ चैत मसान्त भित्र र अनुमानित लागत  दुई खर्ब १३ अर्बभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।

निर्माणपछि यो राजमार्ग काठमाडौं उपत्यकासँग मध्य तराईको सिधा सम्पर्क जोड्नेछ, जसले तराईबाट काठमाडौं ल्याइने सामान ढुवानीमा समय र लागत घटाउने तथा मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। मार्गमा सात वटा सुरुङ निर्माणाधीन छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?