उपत्यकाका उम्मेदवारलाई बालेनको आश्वासन– ‘चुनावपछि हाम्रै सरकार बन्छ, ढुक्क भएर लाग्नुस्’

लोकपथ
469
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका नेता शाहले आइतबार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गरेका हुन् ।

नेता शाहले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिएको भेटमा संलग्न नेताहरुले बताए ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार समेत रहेको नेतृ तोषिमा कार्कीले भेटमा चुनावी अभियानबारे नेता शाहले जानकारी लिएको बताइन् ।

उनले भेटमा चुनावी रणनीतिबारे समेत छलफल भएको उल्लेख गरिन् ।

उनकाअनुसार नेता शाहले उम्मेदवारहरुलाई आफूहरुको स्पष्ट बहुमतको सरकार बन्ने भन्दै जनता समस्या बुझ्ने कार्यमा गम्भीरतापूर्वक लाग्न आग्रह गरेका छन् ।

उनले भनिन्, ‘उहाँले हामीहरुसँग अपडेट लिनुभएको हो । अर्को, चुनावी रणनीतिको बारेमा थोरै छलफल भयो । उहाँले स्पष्ट रुपमा भन्नुभएको छ–सरकार हाम्रो बन्दैछ । ढुक्क भएर जनताको घर घरमा जानुस्, समस्या सुन्नुस् । उहाँहरुको समस्या समाधान गर्छौं, हाम्रो स्पष्ट बहुमतको सरकार बन्दैछ ।’

पार्टीकी नेतृ रञ्जु दर्शनाले चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिइन् ।

उनले भनिन्, ‘उहाँले ढुक्क भएर आफ्नो चुनावी क्याम्पेङ गरेर अगाडि बढ्नुस् भन्नुभयो । अन्य चुनावी रणनीतिको बारेमा पनि केही छलफल भयो ।’

रास्वपा नेता तथा काठमाडौं–३ का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन बालेनसँग भेट भएको बताए ।

उनले भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गरे । उनले आफूहरु सौहाद्र्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गइरहेको उल्लेख गर्दै नागरिकले परिवर्तनलाई आत्साथ गरेको पाइएको पनि बताए ।

उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर ३ मा के भइरहेको छ भन्नेबारे रिपोर्टिङको लागि म आएको थिएँ । हामी सौहार्द्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गएका छौँ । नागरिकले देशमा विकसित राजनीतिक परिवर्तनलाई आत्मसाथ गरेको देखिन्छ । हामीलाई बहुमतले अनुमोदन गर्नुहुन्छ भन्ने विश्वास छ ।’

अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेता साहले झापा–५ बाट उम्मेदवारी दिएका छन् ।

माघ ५ गते झापा पुगेका बालेन केही दिन आफ्नो निर्वाचन क्षेत्रसहित पूर्वी नेपालका विभिन्न जिल्लाको चुनावी अभियानमा सरिक भएका थिए । शनिबार मात्र काठमाडौं ओर्लिएका बालेन केही दिन काठमाडौं बसेर सुदूरपश्चिम प्रदेश जाने बताइएको छ ।

बालेन ललितपुरको कुपण्डोलस्थित ज्वागलमा रहेको कुमान बेनको घरमा बालेनले भेटघाट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?