विशेष महाधिवेशनको पक्षमा चन्द्र भण्डारी– ‘२७ गते देउवा पनि आउनुहुन्छ’

लोकपथ
525
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

शुक्रबार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेका नेता भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैँ सहभागी हुनुपर्ने बताए ।

भृकुटीमण्डपमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा देउवाको पार्टी भएको भन्दै सो महाधिवेशनमा सहभागी हुनुपर्ने बताएका हुन् ।

नेता भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने भएकाले सबै नेताहरु त्यसमा सहभागी हुने विश्वास समेत व्यक्त गरे । उनले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माप्रति संकेत गर्दै कांग्रेसको वर्तमान र भविष्य सोही महाधिवेशनले फैसला गर्ने समेत बताए ।

उनले भने, ‘७७ वटै जिल्लाका साथीहरु हामीसँग छन् । सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरु हाम्रा हुन् । नेपाली कांग्रेसका हुन । जो वर्तमान र भविष्यका पनि हुन् । त्यसो हुनाले नेताहरुलाई पनि हामीले मिलाएर लिएर जान्छौँ । विशेष महाधिवेशनमा सभापति पनि आउनुपर्छ, यो उहाँको पार्टी हो यो ।’

कांग्रेस नेता भण्डारीले महामन्त्रीद्वय थापा र शर्माले पार्टीलाई मिलाएर लैजान बढी जिम्मेवार हुनुपर्ने समेत बताए ।

त्यसो त आजै कांग्रेसका अर्का नेता डा. सुनिल शर्मा समेत विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा देखिएका छन् । डा. शेखर कोइराला पक्ष मानिएका दुवै नेताहरु विशेष महाधिवेशनको पक्षमा खुलेका हुन् ।

यसअघि बुधबार दुवै नेताहरुले महामन्त्री गगन थापासँग लामो संवाद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?