सविन धमला (न्युज एजेन्सी नेपाल)
नेपालको लोकतान्त्रिक इतिहासको पर्याय मानिने नेपाली कांग्रेस, आफ्नो स्थापनाको सात दशकभन्दा लामो यात्रामा अनेकौँ आरोह–अवरोह, प्रतिबन्ध र संघर्षका घुम्तीहरू पार गर्दै यहाँसम्म आइपुगेको छ । २००७ सालको क्रान्तिदेखि २०४६ सालको जनआन्दोलन र २०६२/६३ को गणतान्त्रिक परिवर्तनसम्मको नेतृत्व गरेको यो पार्टीले बाह्य शत्रुहरूसँग लड्दा कहिल्यै हार मानेन । तर विडम्बना नै भन्नुपर्छ– सन् २०२६ (२०८२ साल) को प्रारम्भिक बिन्दुमा आइपुग्दा यो ऐतिहासिक दल आफैँभित्रको अन्तर्विरोध, अविश्वास र शक्ति–संघर्षको दलदलमा यसरी फसेको छ कि जहाँबाट निस्कने बाटो अत्यन्तै धमिलो देखिन्छ ।
आज (शुक्रबार, पुस १८, २०८२) नेपाली कांग्रेसका लागि एउटा सामान्य दिन होइन । यो पार्टीको जीवन–मरणको दोबाटो हो र निर्णायक दिन हो । आसन्न संसदीय निर्वाचन (२०८२ फागुन २१) को संघारमा पार्टीको नियमित महाधिवेशनको कार्यतालिका असफल हुनु, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापतिलाई चुनौती दिँदै विशेष महाधिवेशनको एकतर्फी घोषणा गर्नु र संस्थापन पक्षले त्यसलाई ‘अवैधानिक’ भन्दै खारेज गर्ने तयारी गर्नु– यी परिदृश्यहरूले कांग्रेसभित्रको संकट ‘क्यान्सर’ का रूपमा फैलिसकेको संकेत गर्छन् ।
संवैधानिक संकट : ‘प्रक्रिया’ र ‘बाध्यता’ बीचको द्वन्द्व
अहिले कांग्रेसभित्र देखिएको विवादलाई धेरैले पदको लुछाचुँडीका रूपमा मात्र बुझेका छन् । तर यसको सैद्धान्तिक धरातल ‘वैधानिक सर्वोच्चता’ को व्याख्यामा अडिएको छ ।
असफल कार्यतालिका र वैधानिक शून्यता
पार्टीको केन्द्रीय कार्यसमितिले मंसिर १५ गते सर्वसम्मत रूपमा १५ औँ महाधिवेशनको कार्यतालिका पारित गरेको थियो । जसअनुसार पुस १६ र १७ गते वडा र पालिका अधिवेशनहरू सम्पन्न हुनुपर्थ्यो । तर नेतृत्वले ४ वटा जिल्लाको क्रियाशील सदस्यता विवादलाई देखाएर सम्पूर्ण प्रक्रियालाई बन्धक बनायो । महामन्त्री पक्षको विश्लेषणमा, जब कार्यतालिकाको जग (वडा अधिवेशन) नै भत्कियो, तब त्यो नियमित महाधिवेशनको औचित्य स्वतः समाप्त भयो । असफल भइसकेको कार्यतालिकालाई बोकेर हिँड्नु भनेको पार्टीलाई अनिर्णयको बन्दी बनाउनु हो भन्ने तर्क अगाडि सारे ।
यही वैधानिक शून्यतालाई चिर्न महामन्त्रीद्वयले विधानको धारा १७(२) को सहारा लिए । यो धाराले स्पष्ट भनेको छ– ‘पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्नेछ ।’
यहाँ ‘बोलाउन सक्नेछ’ भन्ने ऐच्छिक व्यवस्था छैन, ‘बोलाउनुपर्नेछ’ भन्ने बाध्यात्मक व्यवस्था छ । ५४ प्रतिशत (२,४८८ जना) प्रतिनिधिको हस्ताक्षर बोकेर ३ महिनासम्म नेतृत्वको ढोका घच्घचाउँदा पनि सुनुवाइ नभएपछि महामन्त्रीहरूले आफूमा निहित प्रशासनिक अधिकार (धारा २७–१) प्रयोग गर्दै भृकुटीमण्डपमा हल बुकिङ गरे ।
दुई विपरीत भाष्य
अहिले कांग्रेसमा दुईवटा विपरीत संवैधानिक भाष्य आमने–सामने छन् ।
संस्थापन पक्ष : केन्द्रीय कार्यसमिति नै सर्वोच्च निकाय हो । सभापति वा महामन्त्री व्यक्ति हुन्, संस्था होइनन् । तसर्थ प्रक्रिया मिचेर गरिएको कुनै पनि गतिविधि ‘अवैधानिक’ हुन्छ ।
विशेष महाधिवेशन माग गर्ने पक्ष : विधानको पालना गर्नु नेतृत्वको कर्तव्य हो, सुविधा होइन । ५४ प्रतिशत प्रतिनिधिको जनादेश केन्द्रीय समितिको निर्णयभन्दा माथि हुन्छ र नेतृत्वले विधान कुल्चिँदा ‘बाध्यात्मक आवश्यकता’ आकर्षित हुन्छ ।
नेतृत्वको मनोविज्ञान
देउवा र ‘पुराना गार्ड’ ले किन रोके सुखद ‘डिपार्चर’ ?
शेरबहादुर देउवा नेपालको राजनीतिमा ‘असम्भवलाई सम्भव’ बनाउने खेलाडीका रूपमा चिनिन्छन् । तर जीवनको उत्तरार्द्धमा र सम्भवतः आफ्नो अन्तिम सक्रिय कार्यकालमा उनले किन ‘सुखद डिपार्चर’ को बाटो रोजेनन् ?
क) ‘संस्थापक सिनड्रोम’ र ऐतिहासिक दम्भ
देउवा र उनी समकालीन नेताहरूको मनोविज्ञानमा एउटा गहिरो ‘स्वामित्वभाव’ छ । उनीहरू ठान्छन् र अक्सर भन्छन् ‘यो पार्टी हामीले पञ्चायतसँग लडेर, जेल–नेल भोगेर बनाएका हौँ । हिजो आएका, सुविधामा हुर्किएका ‘भाइहरू’ ले हामीलाई सिकाउने ?’ यो ऐतिहासिक दम्भले उनीहरूलाई नयाँ पुस्ताको हस्तक्षेप स्वीकार गर्न दिँदैन ।
ख) असुरक्षा र प्रतिशोधको भय
अर्को सबैभन्दा पेचिलो पक्ष ‘असुरक्षा’ हो । संस्थापन पक्षलाई राम्रोसँग थाहा छ कि उनीहरूको कार्यकालमा पार्टी सञ्चालन अपारदर्शी ढंगले भएको छ । उनीहरूलाई एक प्रकारको भयले घर गरेको छ– ‘यदि गगन थापा वा विश्वप्रकाश शर्माको हातमा नेतृत्व गयो भने इतिहासको निर्मम समीक्षा हुनेछ । विगतका कमजोरीहरूको हिसाब–किताब खोजिनेछ ।’ यो ‘प्रतिशोध’ को भयले उनीहरूलाई सत्तामा र शक्तिमा टाँसिएर बस्न बाध्य पारेको छ ।
ग) ‘कोटरी’ को बन्धक
देउवा स्वयंले विश्राम लिन चाहे पनि उनी वरिपरिको घेरा ‘कोटरी’ले उनलाई निस्कन दिँदैन । देउवाको शक्तिमा आश्रित ठूलो पंक्ति छ, जसको राजनीतिक हैसियत देउवाको कुर्सीमा अडिएको छ । यदि देउवा बाहिरिए भने यो समूह ‘अनाथ’ र अभिभावकविहीन जस्तो हुन्छ । त्यसैले यो समूहले देउवालाई निकासको बाटोमा तगारो हालिरहेको छ ।
शेखर कोइराला पक्ष : रणनीतिक सन्तुलन कि ‘ढुलमुले’ अवसरवाद
गगन र विश्वप्रकाशले नेतृत्वलाई खुला चुनौती दिइरहँदा डा. शेखर कोइरालाले किन ‘संस्थागत निर्णयविनाको भेलामा मेरो सहमति छैन’ भनेर चिसो पानी खन्याए ? यसलाई यसरी बुझ्न सकिन्छ ।
क) विस्थापित हुने डर
शेखर कोइरालाको मुख्य शक्ति भनेको ‘इतर पक्षको मियो’ हुनु हो । तर गगन र विश्वप्रकाशले जुन आक्रामक कदम चालेका छन्, त्यसले शेखरलाई छायामा पार्ने खतरा पैदा गरेको छ । यदि विद्रोह सफल भयो भने त्यसको सम्पूर्ण जस गगन–विश्वलाई जान्छ र शेखर ‘सल्लाहकार’ मा खुम्चिनुपर्ने हुन्छ ।
ख) ‘वेटिङ गेम’ र उत्तराधिकारीको मोह
शेखर आफूलाई वरिष्ठताको आधारमा ‘स्वाभाविक उत्तराधिकारी’ ठान्छन् । नियमित महाधिवेशनबाट नेतृत्व परिवर्तन हुँदा उनको पालो आउने सम्भावना हुन्छ । तर सडक र सदन तताएर गरिने विशेष महाधिवेशनमा ‘पपुलिजम’ ले जित्छ, जुन गगन–विश्वको पक्षमा छ । त्यसैले उनी ‘प्रक्रिया’ को वकालत गर्दै गगनको वेगलाई रोक्न र आफ्नो पालो कुर्न चाहन्छन् ।
महामन्त्रीद्वयको ‘जुवा’ : अस्तित्व रक्षाको ‘गर या मर’ को लडाइँ
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो जोखिम मोलेका छन् ।
क) अस्तित्वको संकट
२०८२ को निर्वाचन संघारमा छ । यदि यही अनुहार र यही जडता लिएर चुनावमा जाने हो भने कांग्रेसको हार निश्चित छ र त्यसको दोष महामन्त्रीहरूको टाउकोमा आउनेछ । देउवा पक्षले उनीहरूलाई ‘असफल महामन्त्री’ करार गरेर सिद्ध्याउने रणनीति बनाएको बुझेपछि उनीहरूले ‘मरेर जानु वा मारेर जानु’ को अवस्थामा विद्रोहको शंखघोष गरेका हुन् ।
ख) ‘ब्रान्ड’ जोगाउने बाध्यता
गगन र विश्वप्रकाशको राजनीतिक पुँजी भनेको ‘आशा’ र ‘परिवर्तन’ हो । यदि उनीहरू पनि देउवाकै शैलीमा सम्झौता गरेर बसे भने उनीहरूको सान्दर्भिकता समाप्त हुन्छ । आफ्नो ‘क्रेज’ जोगाउन पनि उनीहरूले विद्रोहको झन्डा उठाउनै पर्ने बाध्यता थियो ।
निर्णायक तत्व ‘समय’ : देउवाको सत्ता र शेखरको मौनताले जित्न नसक्ने शक्ति
माथि विवेचना गरिएका पात्रहरू र प्रवृत्तिले (देउवा, शेखर, गगन) आ–आफ्ना राजनैतिक गोटी चालिरहेका छन् । सबैले सकेको बल लगाएका छन् तर यो राजनीतिको चेस बोर्डमा एउटा अर्को अदृश्य खेलाडी छ, जसले अन्ततः खेलको नतिजा निर्धारण गर्नेछ । त्यो हो ‘समय’ । ‘समय’ निर्जीव लाग्छ एकलाई उभिँदा यसको अर्थ सामान्य नै देखिन्छ । तर नेपालको वर्तमान राजनैतिक र सामाजिक परिवेश र भर्खरै अभिव्यक्त (जेन–जी आन्दोलन) भएको आधारमा भने निकै बलवान छ । हामीले भनेको ‘समय’ कुनै घडीको काँटा मात्र होइन । यो ‘अपरिहार्य परिवर्तनको शक्ति’ हो, जसलाई निम्न चार आयाममा बुझ्न सकिन्छ ः
क) यो समय भनेको ‘पुस्तान्तरण’ र ‘जनसांख्यिकी’ हो
राजनीतिमा समय भनेको ‘बायोलोजी’ पनि हो । शेरबहादुर देउवा ८० को दशकमा छन् । उनी जतिसुकै शक्तिशाली भएपनि प्रकृतिको नियमसँग लड्न सक्दैनन् । उनको सक्रियताको समय अब अस्ताउँदो छ । अर्कोतर्फ, नेपालको मतदाता नामावलीमा ‘जेन–जी’ अर्थात् १८ देखि ३० वर्षका युवाहरूको बाहुल्य छ । यो पुस्ताले देउवाको ‘जेल–नेल’ को इतिहासलाई चिन्दैन, उनीहरूको ‘डेलिभरी’ र ‘डिजिटल प्रिजेन्स’ लाई चिन्छ । गगन–विश्वले हार्नै खोजे पनि वा देउवाले जित्नै खोजे पनि, ‘समय’ (जनसांख्यिक दबाब) ले नेतृत्व युवाकै काँधमा ल्याइपु¥याउँछ । नदीलाई थुनेर राख्न सकिन्छ तर फर्काउन सकिँदैन ।
ख) यो समय भनेको ‘चेतना’ र ‘प्रविधि’ हो
कांग्रेसको पुरानो नेतृत्व ‘२० औँ शताब्दीको माइन्डसेट’ (बन्द कोठा, टीका प्रथा, आदेश र भक्ति) बाट चलिरहेको छ । तर आजको ‘समय’ ले पारदर्शिता, प्रत्यक्ष प्रसारण, प्रश्न गर्ने अधिकार र तत्काल नतिजा खोज्छ । देउवाको ‘अतीत–मोह’ ले यो डिजिटल युगको चेतनालाई सम्बोधन गर्न सक्दैन । शेखरको ‘ढुलमुले’ शैलीले स्पष्टता खोज्ने आजको समयलाई चित्त बुझाउन सक्दैन । त्यसैले, जसले आजको ‘समय’ (प्रविधि र पारदर्शिता) को भाषा बोल्छ (जुन गगन–विश्वले बोल्न खोज्दैछन्), अन्त्यमा जित उसैको हुन्छ ।
ग) यो समय भनेको ‘विकल्पहरूको उदय’ हो
विगतमा कांग्रेसको विकल्प कम्युनिस्ट मात्र थिए, त्यसैले कांग्रेस जति बिग्रिए पनि ‘पालो’ आउँथ्यो । तर अहिलेको समय बदलिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), स्वतन्त्र उम्मेदवारहरू र बालेन÷हर्क जस्ता पात्रहरूको उदय भएको छ । यदि कांग्रेसले आफ्नै ‘समय’अनुसार सुधार गरेन भने जनताले अर्को विकल्प रोज्नेछन् । ‘समय’ ले कांग्रेसलाई भनिरहेको छ ‘कि सुध्रिऊ, कि सिद्धिऊ ।’
घ) यो समय भनेको ‘निर्वाचनको म्यान्डेट’ हो
घडीको सुइँ २०८२ फागुनतिर बढिरहेको छ । देउवाले महाधिवेशन रोक्न सक्लान् तर चुनाव रोक्न सक्दैनन् । शेखरले निर्णय लिन ढिला गर्न सक्लान् तर मतदाताले निर्णय लिन ढिला गर्ने छैनन् । अन्ततः ‘समय’ (चुनाव) ले नै प्रमाणित गर्नेछ कि कांग्रेसको पुरानो मोडेल अब चल्छ कि चल्दैन । यदि गगन–विश्वको विद्रोह असफल भएर कांग्रेस पुरानै ढर्रामा गयो भने चुनावको नतिजाले उनीहरूको विद्रोह सही थियो भन्ने पुष्टि गर्नेछ (भलै पार्टीले हार बेहोरोस्) । त्यो पनि ‘समय’ कै जित हो ।
अबको बाटो के : दुर्घटना, यथास्थिति वा निकास ?
आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र त्यसपछि महामन्त्रीहरूले चाल्ने कदमले कांग्रेसको भविष्य तय गर्नेछ । यहाँ तीनवटा परिदृश्य सम्भव देखिन्छन् ।
पहिलो दुर्घटना (विभाजन) : देउवाले दम्भ देखाएर कारबाही गर्ने र महामन्त्रीहरूले एकतर्फी भेला गर्ने हो भने कांग्रेस वैधानिक रूपमा दुई चिरा पर्नेछ । यो चुनावको मुखमा कांग्रेसका लागि ‘आत्मघाती’ हुनेछ ।
दोस्रो यथास्थिति : महामन्त्रीहरू पछि हट्ने र नेतृत्वले पनि महाधिवेशन नगर्ने हो भने पार्टीभित्र चरम निराशा र ‘अन्तर्घात’ बढ्नेछ । यो पार्टीको ‘सुस्तरी मृत्यु’ को बाटो हो ।
तेस्रो बाध्यात्मक निकास : यो नै सबैभन्दा बुद्धिमानी विकल्प हो । नेतृत्वले ५४% हस्ताक्षरलाई स्वीकार गर्दै विशेष वा नियमित महाधिवेशनको छोटो कार्यतालिकामा सहमति जनाउने र महामन्त्रीहरूले नेतृत्वलाई ‘सम्मानजनक बहिर्गमन’ को वातावरण बनाइदिने ।
नेपाली कांग्रेस यतिबेला इतिहासको कठघरामा उभिएको छ । देउवाको ‘अतीत–मोह’, शेखरको ‘ढुलमुले रणनीति’ र गगन–विश्वको ‘जोखिमपूर्ण विद्रोह’ – यी तीन प्रवृत्तिको टक्करमा अहिले कोही बलियो वा कोही कमजोर देखिएलान् । तर माथि व्याख्या गरिएझैँ अन्ततः जित ‘समय’ कै हुनेछ ।
समय परिवर्तनको त्यो हुरी हो, जसलाई देउवाको सत्ताले छेक्न सक्दैन र शेखरको मौनताले अल्झाउन सक्दैन । जसले समयको यो पदचाप सुनेर आफूलाई बदल्छ, ऊ बाँच्छ; जसले समयसँग जिद्दी गर्छ, ऊ इतिहासको पानामा सीमित हुन्छ । २०८२ सालको यो जाडोमा कांग्रेसभित्र सल्किएको आगोले पार्टीलाई कि त खरानी बनाउनेछ, कि त खारेर शुद्ध सुन बनाउनेछ । ‘निर्णायक मोड’ मा उभिएको कांग्रेसको नियति अब हुने निर्णयमा निर्भर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया