प्रधानमन्त्रीबाटै जेनजी विद्रोहीलाई अपराधी करार गर्न खोजिँदैछ : विप्लव

लोकपथ
147
Shares

 काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी विद्रोहमा सहभागी युवालाई अपराधी देखाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लवले जेनजी विद्रोहबाटै बनेको सरकारले अहिले त्यसै विद्रोहमा सहभागी युवामाथि दोष थोपर्ने काम गरिरहेको बताए । 

उनका अनुसार सरकारले कांग्रेस, एमाले र माओवादीका कार्यकर्तालाई देखाएर जेनजी युवालाई घुमाउरो तरिकाले अपराधी बनाउने प्रयास गरिरहेको छ ।

विप्लवले सिसिटिभी फुटेज र फोटो देखाउँदै ‘मेरो घर कांग्रेसले जलायो’, ‘एमालेले जलायो’ भनेर भन्न लगाइँदै आएको भन्दै प्रश्न गरे यस्तो तरिकाले विद्रोहको व्याख्या हुन्छ र ?

उनले जेनजी विद्रोहमा सडकमा निस्किएका युवा कुनै पार्टीका कार्यकर्ता नभई भ्रष्टाचार र वर्तमान व्यवस्थाबाट वाक्क भएर परिवर्तन चाहने नागरिक भएको जिकिर गरे । ‘२३ र २४ गते सडकमा आएका युवा कांग्रेस, एमाले वा माओवादी भएर होइन, व्यवस्था बदल्न भनेर आएका हुन्, ‘उनले भने ।

महासचिव विप्लवले जेनजी विद्रोह असफल भइसकेको स्वीकार गर्दै त्यसको असफलतालाई गलत रूपमा प्रयोग गरेर फेरि बदनाम गर्न खोजिएको आरोप लगाए । विगतमा माओवादी विद्रोहलाई ‘आतंककारी’ भनिएझैँ अहिले जेनजी विद्रोहलाई पनि बदनाम गराउने प्रयास भइरहेको उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले आफूलाई सत्तामा ल्याउन सहयोग गर्ने युवालाई नै अपराधी ठहर गर्न खोजे देशको अवस्था झन् बिग्रने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?