काठमाडौं । सरकारले देशका विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
निर्णयअनुसार डोटीको विपीनगर, ताप्लेजुङको श्रीचङ्घा, डोल्पाको धो, मुगुको खत्याग, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली तथा सङ्खुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गरिनेछ।
बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गृह मन्त्रालयअन्तर्गतको संगठन संरचना तथा दरबन्दी तेरिज र नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरिएको जानकारी दिए ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको छ। साथै जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गरिएको पनि उनले बताए ।
बैठकले वैदेशिक रोजगारीका क्रममा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल फर्किँदा ‘रेसिडेन्सी कार्ड’को सक्कल र प्रतिलिपिसहित आवेदन पेस गरेमा श्रम स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया