माइतीघरमा जेनजी र प्रहरीबीच धकेलाधकेल

लोकपथ
371
Shares

काठमाडौं । माइतीघर मण्डलामा अनुमति नलिई आन्दोलन गर्न पुगेका जेनजी अभियन्ताहरू र प्रहरीबीच अहिले धकेलाधकेल भइरहेको छ । 

जेनजी अगुवा मिराज ढुङ्गानालगायतको टोलीले आजदेखि माइतीघरमा आन्दोलनको घोषणा गरेकोमा उनीहरूलाई काठमाडौं प्रशासनले अनुमति नदिएपछि ढुङ्गानासहितका जेनजी अभियन्तालाई प्रहरीले रोकेको छ । सो क्रममा धकेलाधकेल भएको हो ।

अनुमतिका लागि जेनजी समूहमा प्रशासनमा आइपुगेको भएपनि आफूहरूले अनुमति नदिने बताएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले बताए । 

प्रमुख जिल्ला अधिकारी पौडेलले आज सोमबार जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाएको भए पनि आफूहरूले अनुमति नदिने बताएको जानकारी दिए । 

‘आन्दोलनको अनुमति दिनुपर्ने भन्दै फरक–फरक पत्र बुझाउनुभएको छ । प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन, दिँदैन पनि,’ उनले भने । 

ढुंगाना समूह आइतबार आन्दोलन घोषणा गरेर आज सोमबार अनुमतिका लागि प्रशासनमा पुगेको थियो । ढुंगानाले गरी खान देऊ अभियान चलाउँछन् । गरिखान देऊका संयोजक ढुंगाना नेतृत्वको टोलीले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रहरीको तैनाथी पनि बढाइएको छ । 

उता, काठमाडौं प्रशासनले माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिएपछि प्रहरीले त्यहाँ भेला भएकाहरूलाई माइकिङ गरी गन्तव्यमा लाग्न भनिरहेको छ । ‘प्रशासनको अनुमति लिएर मात्रै कार्यक्रम गर्नुपर्नेछ । अनुमति नलिईकन कार्यक्रम गर्न आउनुभएको छ भने तपाईंहरू आफ्नो गन्तव्यतिर गइदिनुहोला,’ प्रहरीले माइकिङमार्फत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?