काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारले आफूहरुको मानहानी गर्ने काम गरिरहेको आरोप लगाएका छन् ।
मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद पदमबहादुर परियार, नेकपा एमालेकी सांसद सुमित्रा विसी, नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी साहले सरकारले संसद र सांसदहरुको मानहानी हुनेगरी न्युनतम सेवा, सुविधा समेत कटौति गर्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन् ।
कांग्रेस सांसद परियारले सरकारले सांसदहरुको खर्च कटौति गरेर आफूहरुले विकासको काम गरेको भन्दै निर्वाचनका लागि राजनीति गरिरहेको आरोप समेत लर्गा ।
उनले भने, ‘पार्लियामेन्टरिएनहरुको मानहानी गर्ने, यिनीहरु केही पनि होइनन् र केही पनि चाहिँदैन भन्ने तरिकाबाट अहिलेको सरकार जुन जेन—जी जसलाई हामीले पनि सपोर्ट गर्यौं । तिनीहरुको बलमा बनेको सरकारले जसरी हेरिराखेको । हेरिराखेको मात्रै होइन । यसलाई त पोलिटिकललाईज पनि गर्न खोजिएको छ । चुनाव आउँदैछ, सांसदहरुले कसरी खाए भन्ने देखाएर हामीले कटाएर विकासमा लगायौ भन्ने गरी जनतासँग बेचेर भोट माग्ने काम शुरु गरिसकेको सन्दर्भमा यसलाई विशेष किसिमले हेर्नुपर्छ भन्ने मैले महशुस गरेको छु ।’
नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी साहले राष्ट्रिय सभालाई कमजोर बनाउने काम सरकारले गरिरहेको गुनासो गरिन् ।
उनले संसद र सांसदहरुको सेवा, सुविधा कटौति गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आक्रोश व्यक्त गरिन् ।
सांसद साहले भनिन्, ‘राष्ट्रिय सभालाई नीति निर्माणमा केन्द्रित गर्नका लागि व्यक्तिगत ढंगले हामी सदस्यहरु, समितिहरु मेहनत गर्नुपर्छ भन्ने मान्यताको आधारमा धेरै पटक हामीले छलफल पनि गरेका छौ, माग पनि गरेका छौँ । चाहे त्यो सरकारसँग होस्, चाहे त्यो हाम्रो सचिवालयसँग होस् । विज्ञहरु हामीलाई चाहिन्छ । त्यो खालको व्यवस्थापन हुनुपर्छ भनेर पनि हामीले भनेका छौँ । त्यो माग गरिरहँदा झन यो सभालाई कमजोर बनाउने गरी कतिपय कटौति भएका कुराहरु छन् । त्यसमा हाम्रो कन्सर्न छ भन्नेकुरा म अनुरोध गर्न चाहन्छु ।’
सांसदहरुले ठूल्ठूलो योजना बनाउने तर त्यसका लागि आवश्यक बजेट नदिएको पनि सरकारप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन् ।
नेकपा एमालेकी सांसद विसीले सुदूरपश्चिम प्रदेशका ठूल्ठूला आयोजना सम्पन्न हुनेगरी तत्काल आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
उनले भनिन्, ‘सुदूरपश्चिममा पनि ठूल्ठूला योजनाहरु बनाउने, आश्वासन दिने काम सरकारले गरेको छ । तर बजेट पर्याप्त नपारेका कारणले बन्नु योजनाहरु पनि नबनेको एउटा अप्ठयारो स्थिति त्यहाँ छ । दार्चुलामा १७ किलोमिटरमा तलबाट हुने काम माथिबाट ७० किलोमिटरमा गर्नेगरी त्यो काम अघि बढाइएको पाईयो । जसले गर्दा समयको पनि खर्च, बजेटको पनि खर्च भएको छ । हिजोका दिनमा ती गलत कुराहरु भएपनि अहिलेको सरकारले त्यसलाई सच्याउनु पर्दछ ।’
बैठकमा सुदूरपश्चिम प्रदेशमा सांसदहरुले गरेका अनुगमनको समेत समिक्षा गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया