काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगरिए सरकारको औचित्य समाप्त हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेटका आधारमा सरकार गठन भएको उल्लेख गर्दै फागुन २१ मै निर्वाचन हुनुपर्नेमा जोड दिए । निर्वाचन मिति सार्न सकिन्छ भन्ने मतमा कुनै आधार नरहेको उनको भनाइ छ ।
नेता पुनले संसद् विघटनपछि ६ महिनाभन्दा बढी समय चुनाव नगरी रहन संविधानले नमान्ने स्पष्ट पारे । फागुन २१ मा निर्वाचन र फागुन २८ गते ६ महिना पूरा हुने गरी मिति तय गरिएको उल्लेख गर्दै उनले तोकिएको समयमै चुनाव गराउनुपर्ने तर्क गरे । ‘निर्वाचन सार्नु भनेको संविधान मिच्नु हो,‘उनले भने, ‘तोकेको मितिमा निर्वाचन नगरे यो सरकारको म्याण्डेट सकिन्छ ।
उनले ६ महिनाभित्र निर्वाचन गराउने सर्तमा राजनीतिक दलहरूको सहमतिबाट सरकार बनेको भन्दै सरकारले चुनाव नगराउने निर्णय गर्न नसक्ने बताए ।
कार्यक्रममा नेता पुनले सरकारले अर्थतन्त्र चलायमान बनाउने गरी पुँजीगत खर्च बढाउनुपर्नेमा पनि जोड दिए । साथै, जेनजी आन्दोलनका कारण प्रभावित निजी क्षेत्रका उद्योग तथा व्यवसायलाई राहत दिने नीति ल्याउन सरकारलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया