काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (आइतबार)देखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ ।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र आज र भोलि काठमाडौंमा सञ्चालन हुने भएको हो । पार्टीले बिहान ७:३० बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरेको छ ।
बन्दसत्रमा नीति, नेतृत्व र संगठनसम्बन्धी प्रस्तावमाथि छलफलसँगै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइनेछ । यस महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् ।
यसपटक अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन् । यद्यपि बन्दसत्र सुरु हुन लाग्दासम्म दुवै पक्षले आफ्नो प्यानल औपचारिक रूपमा घोषणा गरेका छैनन् ।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका पोखरेललाई पार्टीकी पूर्वउपाध्यक्षसमेत रहेकी पूर्व राष्ट्रपति विद्या भण्डारी पक्षको समर्थन रहेको बताइन्छ । उक्त समूह ‘ईश्वर–विद्या प्यानल’का रूपमा घोषणा हुने चर्चा यसअघि नै चल्दै आएको छ ।
महाधिवेशनको बन्दसत्रले एमालेको आगामी कार्यदिशा र नेतृत्व संरचना तय गर्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया